Nepal Life Banner

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

1.6K
shares

काठमाण्डौं, १९ वैशाख । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन एएनओका प्रतिनिधिमण्डलसँग मङ्गलबार मन्त्रालयमा भएको भेटमा उनले नेपाली भाषा, संस्कृति या कुन माध्यमबाट हुन्छ संसारका नेपालीभाषीहरूलाई नेपालसँग जोड्नुपर्ने बताएको हो ।

यसबाट एकपटकको नेपाली, सधैँको नेपाली भन्ने मान्यता पनि स्थापित हुन जाने मन्त्री श्रेष्ठले उल्लेख गरे । उनले राजनीतिभन्दा माथि उठेर एएनओले अन्य संस्थासँग समेत सहकार्य गरी नेपाली भाषा, संस्कार, सभ्यता र नेपाली परम्परामार्फत नेपालीभाषीहरूलाई एकीकृत गर्न सुझाव दिएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए ।

भेटका अवसरमा एएनओका अध्यक्ष डिल्ली अधिकारीले आफूहरूले नेपाली भाषा, कला र संस्कृतिमार्फत भावी पुस्तालाई पनि नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना गर्ने उद्देश्यले यो अभियान सुरु गरेको जानकारी दिए ।

प्रवासमा रहेका नेपालीभाषी लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको माटोमा केही गर्न प्रेरित गरिरहेको जानकारी दिएका छन्।

भेटमा अध्यक्ष अधिकारीसहित महासचिव भट्टराई, सचिव चिरनजङ्ग थापा र संस्थापक सदस्यहरू बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङ सहभागी थियो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीहरूको थाइल्याण्डको बैङ्ककमा गत चैतमा सम्पन्न भेलाले नेपाली जाति र नेपालीभाषीहरूलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एएनओ गठन गरेको थियो ।