पशुपालनमा रमाएको समूह : अमेरिका यही, उनलाई जापान पनि यही
एनएलएसआपीको अनुदान पाएर मख्ख छन् अधिकांश पशुपालक किसान

वि.सं.२०८१ जेठ २३ बुधवार १८:२५
shares

बर्दघाट, २३ जेठ । माथि तस्वीरमा देखिएका अधवैसे पुरुषहरु पशुपालक किसान हुन् । विश्व बैंकको सुहलियतपूर्ण ऋण सहयोगमा सञ्चालित कृषि तथा पुशपंक्षी मन्त्रालय माताहतको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाबाट पूरक अनुदान लिएर अहिले उनीहरुले पशुपालन गरिरहेका छन् । उनीहरुले नवलपरासीको सुनवल–१३ बडैलामा पशुपंक्षी तथा कृषि समूह बनाएर आयोजनासँग जोडिएका थिए ।
आयोजनाबाट ५० प्रतिशत अनुदान पाएका समूहका अधिकांश दंग छन् । कृषि कर्ममै आफूहरु सदैव रमाउने उनीहरु बताउछन् । अझ रमाइलो कुरा त यो समूहमा कोेही विदेशबाट फर्किएका र भविष्यमा समेत विदेश जाने सम्भावना नभएका (अपवाद बाहेक) रहेका छन् । मेहनत गरे राम्रै हुन्छ भन्ने यि माथिका चार पुरुषहरुले निर्धकका साथ बताएका छन् ।
मधेश आन्दोलनबाट विस्थापित गैरे
२२ जना सदस्य रहेको यस समूहका अध्यक्ष भने गंगाराम गैरे हुन् । अध्यक्ष गैरेले जीवनको लामो समय सवारी चालक पेशामा बिताए । गाडि चलाएर चित्त बुझ्दो आम्दानी नै थियो । सायद, आपत आइनलागेको भए उनी गाडि चालककै रुपमा अहिले पनि रमाइरहेका हुन्थे । तर सोचे जस्तो कहाँ हुन्छ र ।
जनकपुरबाट नेपालगञ्ज रुटमा गाडि चलाइरहेका गैरे मधेश आन्दोलनबाट विस्थापित भए । मधेश आन्दोलन चर्किदै गर्दा उनी पनि आन्दोलनको तारोमा परे । एक दिन आन्दोलनमा होमिएका केही व्यक्तिहले उनलाई खेदाए । गैरेको भनाइ अनुसार उनी भागेर भारतको गोरखपुर पुगे । गोरखपुर हुँदै उनी आफ्नै गाउँ फर्किए ।
अब गाडि चलाउने सम्भावना रहेन । के जागिर खाने ? वा के काम गर्ने ? सबै भन्दा सहज उनलाई कृषि कर्म लाग्यो । उनले पशुपालन गर्ने योजना बनाए । उनको योजनामा परिवारले पनि साथ दियो । अनि सुरु भयो उनको पशुपालन यात्रा ।
शिक्षणसँगै कृषि कर्म
गैरेको समूहमा सचिव रहेका घनश्याम आले भने शिक्षण पेशामा छन् । उनी स्थानीय निजी विद्यालयमा अहिले पनि शिक्षकको रुपमा कार्यरत छन् । २२ वर्ष भयो उनले स्कुल पढाउन थालेको । निजी स्कुल पढाएकै भरमा घर चलाउन सहज पनि छैन । त्यसैले उनी र उनको परिवारले पनि पशुपालन गरेको छ । स्कुल पढाउन जानु अघि र स्कुल छुट्टि भएपछि उनी घास काट्ने, भकारो सोर्नेदेखि दुध दुनेसम्मका काम परिवारकै सदस्य मिलेर गर्छन ।
विद्यालयमा दिने समय बाहेको सबै समय उनले पशुपालनमा दिएका छन् । बिदाको दिन अलि बढि समय कृषि कर्मका लागि छुट्याउछन् । अन्य दिन पनि उनी विहान बेलुका गोठमै खटिन्छन् ।
जे गर्छु स्वदेशमै गर्छु
समूहमै रहेका दिनेश ढकालको घर गुल्मी हो । तर उनी परिवारसहित सुनवलमा भाडामा बसिरहेका छन् । जग्गा लिजमा लिएका छन् । उनी वैदेशिक रोजगारीमा गएका थिए । विदेश भन्दा त स्वदेशमै केही गर्न सकिन्छ कि भन्ने उनमा आएपछि स्वदेश फर्किए कृषि कर्ममा लागे । १२ कक्षा र ८ कक्षामा पढ्ने २ सन्तानसहित ढकाल दम्पति अहिले कृषि कर्ममा रमाइरहेका छन् ।
३ वर्ष साउदी अरेबिया बस्दा ढकालले पैसै नकमाएका होइनन् । उनले कमाएको केही रकमले घडेरी जोडे । घडेरी जोडेपछि उनको परिवार पनि दंग छ । अब भने ढकाललाई जे गर्छु नेपालमै गर्छु भन्ने लागेको छ ।
मलाई अमेरिका यही, जापान पनि यही
समूहकै अर्का सदस्य कृष्णप्रसाद पन्त पनि कृषि कर्ममा रमाएका छन् । २ सन्तानहरु मध्ये छोरीको बिवाह भयो । छोरा काठमाडौंतिर रमाइरहेका छन् । अनि पन्त दम्पति चाहिँ गाउँमै पेशा व्यवसायमा रमाइरहेका छन् ।
उनी चाहिँ सुरुदेखिकै कृषि पेशामा रमाइरहेका छन र आगामी दिनमा पनि कृषि कर्ममै रमाउने बताउछन् । अर्थात, उनलाई विदेश मोह छैन । पशुपति शर्माको मलाई अमेरिका यही, जापान पनि यही भन्ने गित जस्तै पन्तको सबै थोक आफ्नो पेशा व्यवसाय नै हो ।
यो समूहका सबै सदस्यले नेपाल लाइभस्टक सेक्टर इनोभेस आयोजना (एनएलएसआईपी) बाट ५० प्रतिशत अनुदान पाएका छन् । २० प्रतिशत आफैले लगानी जुटाएका छन् भने ३० प्रतिशत बैंकबाट ऋण लिएका छन् ।
दिग्दारी छ थानेश्वरलाई
हरेक मान्छे सफल हुने चाहाना राख्छ । कतिपय मेहनतले सफल हुन्छन, कतिपय मेहनत गर्दागर्दै असफल सावित हुन्छन् । हो, त्यस्तै भएको छ थानेश्वर न्यौपानेलाई । थानेश्वर पनि सुनवल बडैलाको पशुपंक्षी तथा कृषि समूहका एक सदस्य हुन् । गैरे, आले, ढकाल र पन्त कृषि कर्मबाट सम्पन्न हुँदा थानेश्वरमा भने सन्तुष्टि छैन ।
भनेजस्तो आम्दानी नभएका कारण उनी अहिले तनाव तनाबमै छन् । ‘२२ वर्ष वैदेशिक रोजगारीका लागि साउदी अरब बसेर आए, अब फेरि उतै जानु पर्छ कि जस्तो भइसक्यो’ थानेश्वरले आफ्नो पीडा सुनाए । उनले आफ्नो फर्ममा २ माउ गाई र १० वटा भैसी पालेका छन् । आधुनिक गोठ बनाएका छन् ।
६ वर्षदेखि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच लिएर थानेश्वर नेपाल फर्किएका थिए । अहिले त परिवारै पाल्न नसकिने हो कि भन्ने चिन्ता उनमा छ । यद्यपि, एनएलएस्आईपीसँग भने आफ्नो कुनै गुनासो नरहेको बताए । ‘सिचाईंको सुविधा छैन, पानी नहुँदा समस्या भएको छ’ उनले भने, ‘अन्य अरु धेरै समस्याहरु पनि छन्, तर आयोजनाबाट भने खुसी छु, धेरथोर अनुदान त दिएको छ, यो धेरै खुसीको कुरा हो ।’
प्रस्ताव हाले अनुसारको समूहमार्फत आफूले अनुदान पनि पाएको बताएका उनले मेहनत अनुसारको प्रतिफल भने कृषि कर्मबाट प्राप्त नभएको सुनाए । ‘विहान ४ बजेदेखि राति १० बजेसम्म पनि खटिनु पर्ने हुन्छ’ थानेश्वरले भने, ‘यति खटिदा त धेरै हुनुपर्ने हो, तर सोचे जस्तो भएको छैन ।’
आयोजनाका सूचना अधिकारी इश्वरी खतिवडा पनि आयोजनाका तर्फबाट किसानलाई केही अप्ठ्यारो नरहेको बताउछन् । उनले सकेसम्म किसानलाई आयोजनाले सहजिकरण गरेको बताए । ‘सम्झौता भए अनुसारको काम चाहिँ किसानले गर्नै पर्छ, बाँकी हामीले गर्ने कुरा गर्छौँ’ खतिवडाले केटिएम भ्वाइससँग भने, ‘किसानहरुको खुसी नै होम्रो खुसी हो, उहाँहरुले आयोजनाबाट लिएको अनुदानको राम्रो सदुपयोग गर्नुुहोस् भन्ने चाहाना चाहिँ राख्छौँ ।’