सेयर बजारमा निरन्तर गिरावट

वि.सं.२०८१ जेठ २७ आइतवार १५:४९
shares

काठमाडौं, २७ जेठ । सेयर बजारमा निरन्तर गिरावट आएको छ । सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.५९ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २०७३ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोड पुग्यो ।
आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ, भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ । आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ ।
यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् । इस्टर्न हाइड्रोपावर, शुभव पावर, सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
यसपछि भगवती हाइड्रोपावर डेभलपमेन्ट र सामलिङ पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै सामलिङ पावरको ९.२, सयपत्री हाइड्रोपावरको ८.९, जानाकी फाइनान्सको ८.२, युनाइटेड इदीमर्दीको ७.९, माउन्टेन हाइड्रो नेपालको ७.४ प्रतिशत मूल्य बढ्यो ।
यसक्रममा ५ वटा समूहको सूचक बढेको छ । होटल र टुरिजम, हाइड्रोपावर, लगानी, उत्पादनमूलक र अन्य समूहको सूचक बढेको हो । यसबाहेक सबैजसो समूहमा गिरावट आएको छ।