Dhulikhel Eco Banner new
NCHL Banner 2081

महाकाली अस्पतालमा एघार महिनामा एक लाख पाँच हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

2.02K
shares

काठमाडौं, २९ जेठ । महाकाली प्रादेशिक अस्पतालले ११ महिनाको अवधिमा एक लाख पाँच हजारभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा दिएको छ । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालले चालू आर्थिक वर्ष ०८०र८१ मा एक लाख पाँच हजार दुई सय १८ जना नागरिकलाई स्वास्थ्य सेवा दिएको जनाएको छ । महाकाली प्रादेशिक अस्पतालको तथ्यांकअनुसार ओपिडीतर्फ ७३ हजार चार सय ५३ र इमर्जेन्सीतर्फ ३१ हजार सात सय ६५ बिरामीले उपचार पाएका छन्।

महाकाली अस्पतालमा विशेषज्ञ जनशक्तितर्फ जनरल सर्जरी, बालरोग, स्त्री तथा प्रसूति एनेस्थेसियोलोजी सेवामा करारमा जनशक्ति आएपछि बिरामीको संख्या वृद्धि भएको जनाइएको छ । पाँचबाट डाइलाइसिस वार्ड १० बनाइएको, सर्जरी तथा बालरोग विभागको छुट्टै व्यवस्था गरिएको, भौतिक पूर्वाधार विकास हुँदा सेवा सुविधामा समेत वृद्धि भएको छ ।

‘महाकाली अस्पतालले सिटी स्क्यान सेवा, ओपिडी भवन तला थप्ने, थप विशेषज्ञ चिकित्सकको व्यवस्था, नयाँ भवनबाट सेवा सञ्चालन गर्ने, नयाँ फार्मेसी र पार्किङ सेवा विस्तार गरिनेछ,’ महाकाली अस्पतालका निमित्त मेसु डा। अर्जुनकुमार भट्टले भने, ‘सीमित स्रोत–साधनका बीच अधिकतम स्वास्थ्य सेवा विस्तार गरिएको छ ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट किरणले दरबन्दीअनुरूप चिकित्सक स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा सेवा प्रभावमा समस्या भए पनि उपलब्ध स्रोत–साधन प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताए । उनले आगामी दिनमा थप सेवा सुविधा विस्तार गर्दै नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।