GBIME

लघुवित्तका २ दर्जन बढी सीईओले भेटे राष्ट्र बैंकको ‘डण्डा’

834
shares

काठमाडौं, २ असार । लघुवित्त वित्तीय संस्थाका २ दर्जन बढी प्रमुख कार्यकारी अधिकृतहरु कारबाहीमा परेका छन् । केन्द्रीय बैंकले निर्देशन नमानेको भन्दै ति सीईओहरुलाई कारबाही गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरुले अस्वस्थ प्रतिष्पर्धा गरेको, एकै व्यक्तिलाई धेरै वटा संस्थाले ऋण दिएको, ऋण माथि ऋण थपेको लगायतका समस्याहरु आएपछि राष्ट्र बैंकले लघुवित्तलाई ‘डुप्लिकेसन’ रोक्न निर्देशन दिएको थियो ।

नियामक नियकाले दिएको निर्देशन विपरित २७ वटा लघुवित्तले दिल खोलेर ऋण लगानी गरेको पाइएपछि कारबाहीको डण्डा चलाउनु परेको केन्द्रीय बैंकले जनाएको छ । ‘अहिले सहज परिस्थिति छैन, एकै व्यक्तिलाई धेरै वटा संस्थाले ऋण दिदा थप समस्या हुन्छ भनेर सम्झाएका थियौँ’ केन्द्रीय बैंकका एक अधिकारीले केटिएम भ्वाइससँग भने, ‘तर चर्चित र ठूला भनिएका लघुवित्तका सीईओहरुले नै अटेरी गरेपछि कारबाही गर्न हामी बाध्य भएका हौँ ।’

राष्ट्र बैंक श्रोतले दिएको जानकारी अनुसार कारबाहीमा पर्नेमा लघुवित्त बैंकर्स संघका बहालवाला कार्यसमितिमा रहेकादेखि संघका पूर्व अध्यक्षहरुसम्म रहेका छन् । उनीहरुलाई पहिलो पटक भनेर आर्थिक जरिवाना नगरी सचेत मात्रै गराइएको छ । ‘अझै कडा कारबाही पनि हुन सक्थ्यो, तर पहिलो पटक भएकाले सचेत मात्रै गराएका छौँ’ केन्द्रीय बैंकका ति अधिकारीले बताए ।

कारबाहीमा परेका लघुवित्तका सीईओहरुको नाम केटिएम भ्वाइस डटकममा सुरक्षित रहेको छ ।