विद्युत् सर्ट भई आगलागी हुँदा ३६ लाखभन्दा बढीको क्षति
वि.सं.२०८१ असार २ आइतवार १५:३७
shares
काठमाडौं, २ असार । सल्यानमा विद्युत् सर्ट भई दुई घरमा आगलागी हुँदा ३६ लाखभन्दा बढीको क्षति भएको छ। आइतबार बिहान जिल्लाको दार्मा गाउँपालिका– ३ पाथीखोलाका दुई घरमा आगो लागेको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ।
स्थानीय यज्ञबहादुर नेपाली र विनाद विक एकाघरका दाजुभाइको सगोलको घर र रातोतारा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको भवन जलेर पूर्ण रूपमा नष्ट हुँदा ३६ लाख ४४ हजार एक सय रुपैयाँबराबरको क्षति भएको बताइएको छ।
सगोलमा बस्दै आएका दाजुभाइको घरमा विद्युत् सर्ट भई आगलागी भएको र उक्त आगोले सँगै जोडिएको रातोतारा कृषि बहुउद्देश्यीय सहकारीमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मोहनदेव जोशीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट दुई दाजुभाइको गरी ४५ हजार नगद, लत्ता कपडा, भाँडावर्तन, खाद्यान्नसहित महत्त्वपूर्ण कागजात जल्दा १६ लाख ४४ हजार एक सय रुपैयाँ र सहकारीमा झन्दै २० लाखबराबरको क्षति भएको छ।