Nepal Life Banner

आधार दर (बेस रेट) भनेको के हो ? कसरी हुन्छ गणना ?

2.33K
shares

काठमाडौं, २३ असार । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर (बेस रेट) हो । बेस रेटमा शून्यदेखि ७ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ ।

कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिंक गरेको हुन्छ । आधार दर जहिले पनि तीन–तीन महिनामा घटबढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो ।

यो तल माथी हुनुमा बैंकहरुको हात हुँदैन । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ ।

मानौं कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरि एक जोडेर ८ प्रतिशत हुनेहुन्छ । त्यसकारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाउँछन् तर कर्जामा चाही घटाउँदैनन् भन्ने भ्रम झुठो हो ।

जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबैतर्फको ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भरपर्छ । निक्षेप कति सहज हिसावले आउँछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।

आधार दर गणना गर्ने विधि :
आधार दर गणना गर्दा निम्नानुसारको विधि अपनाउनुपर्छ ।
आधार दर + कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत+ वैधानिक तरलता लागत प्रतिशत+ संचालन लागत प्रतिशत ।