माग पूरा नभएपछि सिए विद्यार्थीहरु आक्रोशित, एनकासाको नेतृत्वमा १० गते प्रदर्शन गर्ने

वि.सं.२०८१ साउन ५ शनिवार १४:११
shares

काठमाडौं, ५ साउन । माग पूरा नभएको भन्दै चार्टर्ड एकाउण्टेन्ट् अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गर्ने भएका छन् । लामो समयदेखि आफूहरुले उठाउदै आएका मागहरु पूरा गर्न व्यवास्ता गरिएपछि आन्दोलनमा जान आफूहरु बाध्य हुनु परेको विद्यार्थीहरुले बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)ले २ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर आइक्यानलाई फागुन १३ गते नै मागपत्र बुझाएको थियो । आफूहरुले बुझाएको माग पत्र पूरा गर्न आइक्यान तयार नभएपछि आफूहरु आन्दोलनमा जान बाध्य हुनु परेको एनकासाका अध्यक्ष महेन्द्र खड्काले बताए ।
खड्काका अनुसार साउन १० गते आइक्यान अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसपछि १२ गते बृहत प्रदर्शन गर्ने र १३ गतेबाट माग पूरा नभएसम्म आमरण अनसन बस्ने खड्काले बताए ।
विद्यार्थीका माग सम्बन्धित वार्ता लाइभ टेलिकास्ट गर्न नदिएसम्म आफूहरु कुनै पनि वार्तामा नबस्ने समेत अध्यक्ष खड्काले बताएका छन् । आन्दोलनको तयारी स्वरुप शनिबार अध्यक्ष खड्कासहितको टोलि आइक्यानसहित गुरुकुल, प्राइम, इलाएट लगायत काठमाडौंका विभिन्न सिए अध्ययन गराउने संस्थाहरुमा पुगेर आन्दोलनबारे जानकारी गराएका छन् ।