Nepal Life Banner

८० लाख हिनामिनामा उपसना पौडेलको संलग्नता

प्राधिकरणले पत्र काट्यो, कम्पनीले कारबाही गरेन

6.27K
shares

काठमाडौं, ९ साउन । हाल हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेकी उपसना पौडेलले लाखौ हिनामिना गरेको खुलासा भएको छ । उपसनाले हिमालयन रिमा होइन, तत्कालिन युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी छदा हिनामिना गरेको पाइएको हो ।

नेपाल बीमा प्राधिकरण र युनाइटेड अजोड इन्स्यारेन्स दुबै श्रोतले यसको पुष्टि गरेको छ । केटिएम भ्वाइसलाई प्राप्त प्रमाण अनुसार तत्कालीन युनाइटेड इन्स्यारेन्सको ८० लाख रुपैयाँ भन्दा बढी हिनामिनामा सीईओ उपसनाको संलग्नता देखिएको छ ।

यति ठूलो हिनामिना प्रकरणमा उपसनासँगै नायव प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी, विभागीय प्रमुख विनोद कस्पालसहितको संलग्नता देखिएको छ । तत्कालीन युनाइटेड इन्स्यारेन्स र अजोड इन्स्यारेन्स मर्ज भएपछि मात्रै यो घटना पुष्टि भएको थियो ।

‘पहिले पनि उपसनाजीले मनपरी गर्नु भएको छ भन्ने कुरा जानकारी चाहिँ थियो’ कम्पनी कम्पनीका एक सञ्चालकले भने, ‘तर डिडिए रिपोर्ट तयार भएपछि मात्रै उहाँहरुको कर्तुत छर्लंग भयो ।’ डिडिए रिपोर्ट तयार पार्दा कर्मचारीका नाममा एड्भान्स लिएर ८० लाख रुपैयाँ मनपरी गरेको खुलेको थियो । यस विषयमा उपसनाले विजनेश किन्न खर्च गरेको भनेर गैरजिम्बेवारीपूर्ण जवाफ दिएकी थिइन् ।

यो विषय तत्कालीन बीमा समिति (अहिलेको बीमा प्राधिकरण) मा समेत पुग्यो । प्राधिकरणले छानवीन गरी हिनामिना भएको पुष्टि गर्दै सम्बन्धित ८० लाख रुपैयाँ असुल गरी दोषि कर्मचारीहरुलाई कारबाही गर्न पत्राचार समेत गरेको छ । प्राधिकरणका प्रवक्ता सुशील सुवेदीले उक्त प्रकरणमा कारबाही भए नभएको जानकारी प्राप्त नभएको बताए ।

डिसीईओको सुर्खेत सरुवा

यो प्रकरणले कम्पनीमा निकै हलचल ल्याएको थियो । नियामक निकाय बीमा प्राधिकरणसम्म यो घटना पुगेपछि कम्पनी आफ्ना बद्मास कर्मचारीहरुलाई कारबाी गरे जस्तो गर्न बाध्य भयो ।

लाखौँ हिनामिनामा मुछिएपछि सञ्चालक समितिले उपसनालाई अब निरन्तरता नदिने भनेर जानकारी गराएको थियो । नविन सुवेदीलाई कम्पनीमा उपसनाले नै ल्याएकी थिइन् । प्रभु इन्स्यारेन्समा काम गरिरहेका सुवेदीलाई ल्याएर उपसनाले डिसीईओ बनाएकी थिइन् ।

यहाँ रोचक कुरा त यो प्रकरण बाहिर आएपछि कम्पनीको सेकेण्ड म्यानको भूमिकामा रहेका नविन सुवेदीलाई सुर्खेत शाखामा सरुवा गरियो । कम्पनीको दोस्रो ठूलो वरियतामा रहेका व्यक्तिको शाखामा सरुवा भएपछि हाजिर हुन जाने कुरै भएन । सुवेदी शाखामा गएनन्, केन्द्रीय कार्यालयमै हाजिर गराउनु पर्ने अडान लिए । तर, कम्पनीले उनलाई हाजिर गराएन ।

त्यसपछि आफू श्रम अदालत गएको सुवेदीले केटिएम भ्वाइसलाई बताए । श्रमअदालतले हाजिर गराउन आदेश दिदा समेत कम्पनीले टेरेन । बोरु श्रम अदालतको विरुद्ध कम्पनी सर्वोच्च गयो । ‘श्रम अदालत होइन सर्वोच्चलाई पनि टेरेनन्’ सुवेदीले भने, ‘उनीहरु सर्वोच्चमा गएका चाहि छन्, तर मलाई हाजिर गराएका छैनन् ।’

तर, हिनामिनमा आफ्नो संलग्नता नभएको उनले बताए । आफ्नो खातामा पैसा नआएको, र आफ्नो पालामा समेत नभएको कारण यसलाई हिनामिना भन्न नमिल्ने सुवेदीले बताए । उनका अनुसार यो प्रकरण उपसनाकै पालामा भएको हो । ‘यो मेरो पालामा भएको पनि हैन, उपसनाको पालामा भएको हो’ उनले भने, ‘मेरो नाममा देखाइदिए त म तिरिदिने थिएँ, मैले न भौचरमा सही गरेको छु, न चेकमा सही गरेको छु ।’

हाल हिमालयन रिको सीईओ रहेकी उपसना केटिएम भ्वाइसको सम्पर्कमा आए पनि यस विषयमा प्रतिक्रिया दिन चाहिनन् । यद्यपि, कम्पनी श्रोतले भने यो प्रकरणमा सजायको भागेदार उपसना नै हुनुपर्ने जिकिर गरेको छ । २०७८ बैशाख १६ गते युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिईओ बनेकी उपसना पौडेल २०७९ कात्तिकमा कम्पनीबाट बाहिरिएकी थिइन् ।

कम्पनीमा हाजिर हुन नपाएका सुवेदीको बेवसाइटमा भने डिसीईओ भनेर तस्वीर राखिएको छ । यस प्रकरणमा समेत मुछिएका विनोद कस्पाल भने राजीनामा दिएर कम्पनीबाट बाहिरिएका छन् । उनले क्लियरेन्स भने पाएका छैनन् ।

‘विनोद जीको मात्रै होइन, सीईओ कुमारबहादुर खत्रीको पनि राजीनामा स्वीकृत भएर बिदा भएपनि क्लियरेन्स भने पाउनु भएको छैन’ श्रोतले भन्यो ।

‘बीमामा मनपरी’ केटिएम भ्वाइसको नयाँ श्रृंखला हो । हामीले यस श्रृंखलामा अब नियमित रुपमा सामाग्री पस्कनेछौँ । समाचार माथि केही गुनासो र जानकारी भए सम्पादक (९८५११४५६४१)लाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।