महावै पाटन बन्यो पर्यटकका लागि आकर्षण केन्द्र
वि.सं.२०८१ कात्तिक १२ सोमवार १७:०४
shares
काठमाडौं, १३ साउन । कालीकोट र दैलेखको सीमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।
पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रुपमा रहेको छ । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन् ।
महावै पाटनका नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ । हरेक वर्ष जनैपूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । मेलमका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
शिव मन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन्ने प्रचलन रहेको र महावै जगन्नाथलाई पनि महादेवको प्रतीकका रुपमा लिने गरिएको छ । देशका एकसय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महाबुधाम समेटिए पनि छ ।
यस क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको छ । ‘यहाँको पर्यटन प्रवर्द्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौँ’, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन् ।’
धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठूलो रकमको आवश्यकता रहेको र अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको पनि छ । यहाँबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बर्दिया, टीकापुर र नेपालगञ्जका अधिकांश स्थान देख्न सकिन्छ ।
‘महावैमा वर्षा याममा कालीकोट र दैलेखबाट चरनका लागि ल्याउने भेडाबाख्रा तथा गाईभैँसीलाई गोठ बनाइएका छन्’, ‘वर्षायाममा हरियाली फाँटमा भेडाबाख्रा, घोडा, गाईभैँसीका बथान देख्न सकिन्छ, यसले यहाँको आकर्षण थप बढाएको छ ।’