Nepal Life Banner (End Date 5 Magh 2081)

कैलालीमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

1.37K
shares

काठमाडौं, १७ साउन । कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो ।

२०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी निर्माण सम्पन्न गरिने छ ।

चार वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको हो  । संघीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत  १८ करोड ५२ लाख रहेको छ ।

निर्माणाधीन भवन हस्तान्तरण भएर गत आर्थिक वर्षको अन्तिमबाट नियमित सञ्चालन गर्ने लक्ष्य रहे पनि बजेट अभाव हुँदा ढिलाइ भएको र भवन निर्माण अन्तिम चरणमा पुगेको अस्पताल सञ्चालनका लागि पनि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने रहेको छ ।

भवनमा अहिले रङगरोगन, फिनिसिङको काम भइरहेको सूचना अधिकारी कलेलले बताए । संघीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत  १८ करोड ५२ लाखमध्ये हालसम्म आधा रकम मात्र भुक्तानी भएको छ ।

बजेट अभावमा अस्पताल परिसरमा बन्नुपर्ने अन्य भौतिक संरचना निर्माण हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चालु आर्थिक वर्षदेखि अस्पताल सञ्चालनमा ल्याउन सकिने छ ।

अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगञ्ज तथा भारतसम्म पुग्ने गरेका छन् ।