काठमाडौं टू बेइजिङ
चिनियाँको पहिलो भाषा नै मुस्कान
वि.सं.२०८१ असोज २ बुधवार १०:२६
shares
देश छाडेको आज पाँचौ दिन । बेइजिङ बसाइ कस्तो होला ? नेपाली खानेकुराहरु नपाएर समस्या पो हुने हो कि ? बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पस्दै गर्दा मनमा यस्ता अनेकौ प्रश्नहरु खेलिरहेका थिए । ११ः५५ बजे को उडानमार्फत बुधबार म गोञ्जओतर्फ उडान भर्ने तयारीमा थिए । तर जहाज एक घण्टा डिले भयो । १ बजेर १५ तिर जहाजसँगै मैले पनि देश छाडे । विदेश भ्रमणका अवसरहरु यसअघि पनि आएकै हुन् । एक हप्ता, १० दिनसम्मका भ्रमण गरिएको भए पनि यस पटक चीन भ्रमण चाहिँ अलि भिन्न थियो । अलि लामो समयका लागि भएकाले पनि मनमा विभिन्न प्रश्नहरु खेलिरहेका थिए ।
मस्त निन्द्राबाट बिउझिदा कसैले के खाने भनेर अंग्रेजीमा सोधिरहेको थियो । र ति मान्छे थिइन्, जहाजकी एयर होस्टेज । जहाजभित्र खाना खाएर निदाएँ । विहान उज्यालो हुँदा हाम्रो जहाज चिनियाँ आकासमा थियो । करिब ८ बजे हाम्रो जहाज गोञ्जाओ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । गोञ्जाओ ट्रान्जिट भएकाले म चिनियाँ अध्यागमन पार गर्दै बेइजिङ सहरतिर उड्ने जहाज खोज्न तिर लागे ।
गाडि चढेर अलिकति अगाडि बढेपछि हामी चढ्ने जहाज देखियो । उक्त जहाजहामा एक जना व्यापारी, २ जना दुतावास हिडेका नेपाली र एक जना महिला खेलाडीसहित हामी ५ जना नेपाली रहेछौँ । यि मध्येका व्यापारीसँग काठमाडौं विमानस्थलमै भेट भएपनि गफ गर्न पाइएको थिएन । गोञ्जाओ पुुगेपछि थप २ जनासँग र जहाज उड्न लागेपछि महिला खेलाडीसँग चिनाजन भयो । लगेज लिनेबेलामा भने हामी पाँचै जना केहीबेर कुराकानी गर्यौ ।
हाम्रो देशबाट उड्ने अन्तर्राष्ट्रिय विमानहरु भन्दा चीनको आन्तरिक विमान धेरै नै ठूलो थियो । जहाज अघि बढ्यो । सिटमा फिल्म हेर्न टेलिभिजन स्क्रिन थियो । त्यहाँ फिल्म हेर्ने, गित सुन्ने वा आफू चढेको जहाज कहाँबाट कसरी उडिरहेको छ भनेर हेर्ने आफूूले रोजेर हेर्न मिल्ने थियो ।
म पनि कानमा हेडफोन लगाएर त्यसको उपयोग गर्न तिर लागे । कोरोनाको उत्पत्ति भएको भनेर विश्व प्रख्यात बनेको वुहान सहरको आकास हुँदै हाम्रो जहाज बेइजिङ विमानस्थलमा अवतरण गर्यो । एउटै जहाजमा रहेका चार जना आ–आफ्नो बाटो लाग्नु भयो । म चाहिँ विमानस्थलबाट बाहिर निस्किएर यताउची हेर्न थाले । ठ्याकै अगाडि ‘वेलकम टु चाइना मिस्टर आचार्य’ लेखेको प्ले कार्ड बोकेर एक युवती कसैलाई पर्खिरहेकी थिइन् । त्यो अरु कोही नभएर म आफै थिएँ । मैले हात हल्लाएर, मुस्कान दिदै ति युवतीले पनि हात हल्लाइन ।
त्यहाँबाट बाहिर निस्किदा मैले उनको पूरा नाम सोधे । चाइनिज कि अंग्रेजी ? उनले जवाफ फर्काइन् । म अचम्ममा परे । चाइनामा २ वटा नाम हुने रहेछ, एएटा चाइनिज र अर्को अंग्रेजी । उनले आफ्नो नाम बताइन र मलाई अगाडिको कारमा चढाएर आफू अन्तै लागिन् । विमानस्थलबाट करिब एक घण्टा पछि मेरोलागि बुक भएको अपार्टमेन्टमा पुगियो ।
अपार्टमेन्ट व्यवस्थापन कार्यालयका प्रतिनिधिले अपार्टमेन्टको नियमहरु बताइन् र मेरा लागि तयार भएको आवासीय परिचय पत्र दिइन् । म जुन कार्यक्रममा आएको थिए, त्यसको कार्यालय पनि नजिकै रहेछ । म सहभागी हुने कार्यक्रममा मसहित २० देशका पत्रकारहरु सहभागी हुँदैछन् । हाम्रा लागि असिस्टेन्ट तोकिएको छ । मिस्टर अल्वर्ट नाम गरेका असिसटेन्टले मलाई उनीहरुको कार्यालय लिएर गए । केही समस्या भए मैले अब उनै मिस्टर अल्वर्टलाई भन्नु पर्नेछ ।
कलेज लाइफको त्यो पल
काठमाडौंमा कलेज पढ्दाका पलहरु सम्झाउने गरी पहिलो दिन विताइयो । आवासीय अनमुति परिचय पत्र र केही रकम बोकेर म साझ किनमेलका लागि निस्किए । चामल, तेल, नुन, चिनी जस्ता कुराहरु ख्रिद गरे । तरकारी किन्न मन थियो तरकारी भेटिनँ । यसकारण साझ डिनरमा फलफुल र ब्रेड उपयोग गरियो । विहान ब्रेकफास्ट पनि उस्तै भयो ।
भोलिपल्ट मैले तरकारी त किने फेरि मसला र बेसार छैन । सोही दिन साझ मैले मसला र बेसार पनि किने तर मसँग प्रेसर कुकर छैन । हे प्रभु । व्यवस्थापन पनि केके चाहिँ गर्नु । अपार्टमेन्टले उपलब्ध गराएका चिया पकाउने दिउरे र तरकारी पकाउने अर्को भाडा भने छ । दिउरेमा भात पकाएर २ दिन खाइयो । नेपाली खानाका लागि चाहिने दाल, तरकारी मरमसाला सबै तयार छ । अब प्रेसर कुुकर किनेर साह्रै मिठो खाना बनाएर खानुपर्नेछ ।
कपडा धुनका लागि वासिङ मेसिन छ, त्यसको उपयोग पनि आफै गर्नुपर्नेछ । अर्थात आफूबाच्नाका लागि आफ्ना लागि सबैथोक आफैले गर्नुपर्नेछ । जुन म कलेज पढ्दा गर्थे । विहान उठ्यो, खाना बनायो । खायो अनि भाडा माझ्यो । बिवाह गरेर परिवारसँगै भएपछि यस्ता कामहरु विर्सिसकेको थिए । यि कामहरु पुनः सिक्नेछु । आफ्ना लागि अब आफै केही गर्नेछु ।
चिनियाहरुको मुुस्कान नै मिठो
सुपरमार्केट तथा पसलहरुमा भेटिएका चिनियाँहरुको सबैभन्दा राम्रो पक्ष नै मुस्कान हो । आफ्ना ग्राहकहरुलाई उनीहरुले मुुस्कानले स्वागत गर्ने रहेछन् । मुस्कानमा साच्चिकै मान्छे राम्रो हुन्छ । चाइनिजहरु त्यसै राम्रा । अझ मुस्कान पनि थपिएपछि त सुुनमा सुुगन्ध । नेपालमा भनेजस्तो कान्छी मुसुुस्ककै पैसा भुसुक्कै यहाँ हुँदैन । यहाँ भाषाको समस्या छ । अधिकांश पसलहरुमा अंग्रेजी समेत बुुझ्दैनन् । केही माग्नु पर्यो भने इशाराले माग्ने हो । वा इन्टरनेटमा भाषा अनुुवाद गरेर देखाउने हो ।
विदेशीहरुका लागि चिनियाँको पहिलो भाषा भनेको मुस्कान नै हो । उनीहरुले मुुस्कानले नै स्वागत गर्छन र मुस्कानसहित बिदाइ । पाँचौ दिनसम्म आइुपुुग्दा कुनै व्यापारीले झर्कोफर्को गरेको वा रिसाएको चाहिँ देखेको छैन । अर्को दुःखको कुरो चाहिँ यतिका दिनसम्म मैले यहाँ एक जना नेपाली पनि देखेको छैन ।
चाइनिजहरु सहयोगी पनि हुने रैछन् । शनिबार राति १० बजेतिर म सडक किनारामा उभिरहेको थिएँ । मुुसलधारे पानी पर्यो । भिजेर साह्रै तनाब भइरहेको थियो । अन्य पैदलयात्रीहरु कोही छाता ओडेर त कोही रेनकोट भिरेर हिडिरहेका थिए । एक जोडी महिला र पुरुष म तिर आए । पुरुषले हातले म तिर देखाइरहेका थिए । उनले के भनिरहेका छन् भन्ने मैले बुझिनँ । क्यान यू स्पिक इंग्लिस ? मैले भने ।
उनीहरुले पनि बुुझेनन् । हातमा भएको कुरा समाउन इसारा गरिरहेका थिए । मलाई भने अचम्म लाग्यो । यिनिहरुले के भन्न खोजेका होलान् भन्ने भयो । अन्नतः उसले इसारा गरेको वस्तु मैले समाते । त्यो रेनकोट रहेछ । अनि उनीहरुले मलाई भिजेको देखेर रेनकोट गिफ्ट गर्न खोजेका रहेछन् । मैले रेनकोट लिएँर थ्यांकयू भने । उनीहरु सेसे भन्दा हात हल्लाएर अघि बढे ।
आज आइतबारसम्मका लागि विहान खाजा खाने, खाना खाने बाहेक एक्लै घुुम्नु नै मेरो काम हो । दोस्रो दिन मैले सिमकार्ड लिए र बैंक खाता खोले । सोमबारदेखि भने मेरो पढाइ सुुरु हुनेछ । त्यपछि यति फुुर्सदिलो हुन नपाइएला ।
नेपालले सिक्नै पर्ने कुरा
चीन हाम्रो छिमेकी मुलुक हो । छिमेकी भएकाले पनि चीन हामीसँग नजिक छ । तर चीनबाट हामीले सिक्न सकेका छैनौँ । चीनमा ठूला चौडा सडकहरु छन् । यहाँ तीन महिनामा सडक उप्किदैन । यहाँ अग्ला भवनहरु छन् । यहाँका भौतिक संरचनाहरु केही वर्षका लागि होइन, संयौ वर्षका लागि पुुग्ने गरेर बनाइएका छन् ।
यहाँ कृतिम भौतिक संरचनाहरु मात्रै होइन, प्राकृतिक रुपमा पनि चीन अव्वल देखियो । यहाँ हरियाली पनि प्रसस्तै देख्न पाइन्छ । हामी बसेको अपार्टमेन्ट कम्पाउण्डमा त आरु, बखडा जस्ता फलफुलहरुसहित ठूला रुख समेत छन् । जसले वातावरणलाई स्वच्छ बनाउँछ ।
केही तस्वीरहरु हेर्नुहोस् :