डालियन सहर : अत्याधुनिक विकास, प्राकृतिक रुपमा पनि भरिपूर्ण
जहाँ परम्परागतको संरक्षण गरिएको छ
वि.सं.२०८१ असोज ७ सोमवार ०५:००
shares
बेइजिङ बसाइलाई केही दिनका लागि बिट मार्ने योजना बन्दै गर्दा नै मन हर्षित बनेको थियो । ‘गुड मर्निङ, म तपाईहरुलाई भोलिको सेड्युल बारे जानकारी गराउन चाहान्छु,……… जाडोको कपडा बोक्न नभुल्नु होला’ अमैयाले ग्रुपमा मेसेज गरिन् । अमैया हाम्री नयाँ असिसटेन्ट हुन् । हामी एशिया प्यासिफिक क्षेत्रका लागि अल्वर्ट र इमिली नाम गरेका २ जना असिसटेन्ट छन् । हाम्रो एक साताको लायोनिङ भ्रमणका लागि भने अमैयाले हामीलाई असिस्ट गर्नेछिन् । उनले हामीलाई हरेक कुराको जानकारी गराउनेछिन् ।
अनि हामीलाई केही समस्या परे वा केही कन्फ्युजन भए दिल खोलेर उनीसँग राख्न सकिन्छ । कसरी हुन्छ उनले समाधान गराउनेछिन् । शनिबार उनले पठाएको मेसेजमा ११ः३० बजे हामी अपार्टमेन्टबाट रेल्वे स्टेसन तिर मुभ हुने उल्लेख थियो । हामी आइतबार विहान बेइजिङ छाडेर प्रतिघण्टा ३५० किलोमिटरको रफ्तारमा दगुर्ने बुलेट रेल चढेर लायोनिङ प्रदेश तिर प्रस्थान गर्ने तयारीमा थियौँ । नयाँ ठाउँ भने पनि मन फुरुङ्ग हुने नै भयो । आइतबार म पनि चाडै उठेँ, जाडोका कपडाहरु लगेजमा प्याक गरेँ।
११ बजे हामीलाई लिन बस कुरिरहेको थियो । चिनियाँ विदेशी मामिला सम्बन्धि काम गर्ने एक अधिकारी, चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सिआईपीसी) की एक डाइरेक्टर र एक असिसटेन्टसहित ३१ जना विदेशी पत्रकारको टोलि अघि बढ्यो । केहीबेरमा हामी रेल्वे स्टेसन पुुग्यौ । प्रतिघण्टा ३५० किमी स्पिडमा कुद्ने रेल अनुुभव मसहित धेरैका लागि पहिलो थियो । त्यहीँ भएर पनि हामी उत्साहित थियौँ । केहीबेर पर्खिए पछि रेल आयो, हामी चढ्यौँ । करिब ५ घण्टा लामो यात्रा पछि हामी पहाड, पर्वत र सुरुङ मार्गहरु छिचाल्दै लायोनिङ प्रदेशको डालियन सहर पुुग्यौँ । रेल अत्यन्तै द्रुतगतिमा दगुुरिरहेको थियो ।
यद्यपि, हामीले बाटामा चुरे पहाड, कृषि खेति भएको रमणीय समथर जमीन, हरियाली फाट हेर्दै अघि बढ्यौँ । हामी डालियन सहर पुग्नु अगावै हामीलाई स्वागत गर्न स्थानीय सरकारसहितको टोली कुुरिरहेको थियो । डालियन सहर साच्चिकै सुन्दर रहेछ । बेइजिङ भन्दा धेरै नै सुन्दर । हाम्रो यात्राको कथा भन्दा पहिले अब डालियन सहरबारे थोरै चर्चा गरौँ ।
सुन्दर पर्यटकीय नगरी
चीनको लियोनिङ प्रान्त आफैमा चर्चित पर्यटकीय गन्तव्य हो । यस प्रान्तमा रहेको डालियन सहर एक जीवन्त तटीय क्षेत्र हो । डालियन लियोदोङ प्रायद्वीपको दक्षिणी किनारमा पर्ने यो सहर पर्यटकहरुका लागि प्रख्यात सहर हो । यहाँ रहेको यल्लो र बोहाई सागर आपसमा मिलेका छन् । अर्को महत्वपूर्ण कुरा यहाँको मौसम पनि उत्तिकै राम्रो छ । प्राय जाडो भइरहने यस सहरमा पर्यटक आकर्षिक हुनुको प्रमुख कारण यहाँको सुुन्दरतासँगै मौसम समेत हो ।
डालियन सहर सास्कृतिक रुपमा पनि प्रख्यात छ । यहाँ रुसी र जापानी संस्कृतिको प्रभाव देख्न सकिन्छ । यहाँ वास्तुकला र सहरी योजनामा ति संस्कृतिहरु झल्किन्छन् । यहाँ नदि किनारको मनोरम दृश्य प्रशिद्ध छ । पार्कहरुसँगै एशियाको सबैभन्दा ठूलो चोक मध्ये एक डालियन जिन्हाई स्क्वायर पनि यहीँ सहरमा रहेको छ ।
डालियन सहर चीनको प्रमुख आर्थिक केन्द्रहरु मध्ये एकमा पर्छ । ढुवानी, व्यापार र प्रविधिको क्षेत्रहरु विशेष छन् । यो सहरमा डालियन अन्तर्राष्ट्रिय फेसन फेस्टिवल, इन्टरनेसनल इकोनोमिक फेस्टिवल जस्ता विश्व चर्चित कार्यक्रमहरु समेत आयोजना हुने गरेको छ । यो समुन्द्र खाना अर्थात सि फूडले पनि चर्चित सहर हो । यहाँ आउनेहरुले सिफूडको मज्जा समेत लिन पाउनेछन् ।
आहाँ ! कति रमाइलो
सबै कुराहरु शब्दमा वयान गर्न पनि सकिदैन । पहिलो पटक देख्दा डालियन सहर मलाई त्यस्तै भयो । यति रमाइलो लाग्यो कि म त्यसलाई शब्दमा वयान गर्न पनि सक्दिन । बाटामा हामीले गगन चुम्बी भवनहरु हेर्यौ । पूर्वाधार विकासमा त बेइजिङ भन्दा पनि लिओनिङ पो धेरै अघि देखियो । यस्तै यस्तै रमाइला र लोभलाग्दा दृश्यावलोकनसहित हामी होटल पुग्यौँ ।
हामी होटलमा पुग्ने वित्तिकै डिनरका लागि गयौँ । हामीसँग डालियन पिपुल्स गभर्मेन्ट (स्थानीय सरकार) का उपमेयर लेङफुुसेङसहित चिनियाँ कम्युनिष्ट पार्टीको विभिन्न तहमा जिम्बेवारीमा रहनु भएका व्यक्तिहरु हुनुहुन्थ्यो । साथै फरेन अफेअर्सका अधिकारीहरु समेत ।
हाम्रो नाम अनुसार खाना खाने टेवल व्यवस्थापन गरिएको थियो । अर्थात आफूले रोजेको होइन, भएको सिट प्लान अनुसार आफ्नो नाम खोजेर हामी बस्यौँ । खाना खानुु अघि उपप्रमुुखज्यूले छोटो स्वागत मन्तव्य राख्नुु भयो । उहाँको स्वागत स्वीकार गर्दै हामीले खाना खान थाल्यौँ । खाना खाने स्टाइल पनि अलि नयाँ ढंगको थियो । हाम्रोलागि विशेष मेनु तयार थियो । तर, एक परिकार खाइसकेपछि मात्रै अर्को परिका दिइयो । जस्तो मसरुम सुप सकिए पछि मटन फ्राइ, मटन फ्राइ सकिए पछि सिफूड । हामीले स्थानीय सरकारका उपप्रमुखसँगै बसेर डिनर गयौँ ।
हामीले स्वाद अनुसार निकै रामाइलो मानेर खायौँ । खाना खाइसकेर हामी कोठामा चेक इन भए लगत्तै फेरि बाहिर निस्कियौँ । सायद रातिको ८ः३० जति बजेको हुँदो हो । हामी होटलबाट गाडि चढेर केही अगाडि पुग्यौँ । एउटा खुला मैदानमा ठूलो ग्लोब उभ्याइएको छ । ग्लोबमा लेखिएको छ, वल्र्ड इकोनोमिक फोरम । यहाँ पुग्ने जोकोहीको यसले ध्यान तानिहाल्छ । हामीले पनि त्यहाँ भिडियो सुट गर्यौ, तस्वीर कैद गर्यौ ।
साच्चिकै कति सुन्दर सहर ! आहा । मनै लोभ्याउने । हामीले बाटामा राखिएका सिफूडका आइटमहरु हेर्यौ । केही चाख्यौँ पनि । हामीले डालियनमा रहेको नदि, त्यहाँ कुद्ने डुंगासँगै त्यहाँ रहेका पौराणिक भवन, आवास क्षेत्रहरु पनि हेर्यौँ । नजिकै भने धेरै ठूला होटलहरु थिएँ । मध्यरातमा भए पनि मध्य दिन जत्तिकै झलमल । आहा ! कत्ति सुन्दर रहेछ ।
सबैका मुखमा यस्तै शब्द झुण्डिएको थियो । ति रमाइला दृश्य हेरेर न आँखा अघाएको थियो, न मन । तर हामी होटलमा फर्कनै पर्ने थियो, फर्कियौँ । लायोनिङ प्रान्तको पहिलो दिन साच्चिकै अविष्मरणीय बन्यो । र हामी ढुक्क छौँ, आगामी दिनहरु अझ धेरै राम्रा हुनेछन् ।