रेडियो र टिभिमा काम गरेका रतन टाटा : जेट विमान आफै चलाउथे

वि.सं.२०८१ असोज २४ बिहीवार १९:५७
shares

काठमाडौं । भारतका ख्यातिप्राप्त उद्यमी रतन टाटाको ८६ वर्षको उमेरमा बुधवार निधन भएको छ। उनलाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चर्चित भारतीय उद्यमीहरूमध्ये एक मानिन्थ्यो । उनको टाटा ग्रुपलाई “सल्ट टू सफ्टवेअर कङ्ग्लोमरट“ मानिन्छ किनकि यसअन्तर्गतका १०० भन्दा बढी कम्पनीहरूको उत्पादन तथा व्यापार कुनै एउटा व्यवसायमा मात्र सीमित छैन। तीमध्ये टाटा मोटर्स र टाटा स्टीललगायत केही अत्यधिक चर्चित छन् ।
विगत दुई दशकमा उनका कम्पनीहरूमा छ लाख ६० हजारभन्दा बढी मानिसले रोजगारी पाएको मानिन्छ भने यी कम्पनीले वार्षिक रूपमा १०० अर्ब डलरभन्दा बढी रकम कमाएको तथ्याङ्क छ । ’स्टोरी अफ टाटा’ पुस्तकका लेखक पीटर केसीका अनुसार टाटा ग्रूपका मूल्यमान्यतामा “पुँजीवाद र परोपकारको मिश्रण“ पाइन्छ र “अरूको जीवनलाई थप राम्रो बनाउने गरी व्यवसाय गरेर“ त्यो उद्देश्य प्राप्त गरिन्छ ।
यस समूहको ’होल्डिङ कम्पनी’का रूपमा रहेको ’टाटा सन्स’मा कतिपय निजी तथा कतिपय सार्वजनिक व्यापार गर्ने कम्पनी भए पनि “मूलतः तिनीहरूमा पनि परोपकारी कोषको स्वामित्व छ,“ उनी भन्छन् ।
दिल्लीस्थित बीबीसी संवाददाता विकास पाण्डेका अनुसार धेरै भारतीयहरूले सामाजिक सञ्जालमा टाटाको निधनलाई “व्यक्तिगत क्षति“का रूपमा अर्थ्याएका छन् । त्यसको मुख्य कारण उनले कहिल्यै पनि धनको आडम्बर नदेखाउनु रहेको उनको भनाइ छ ।
उनले लेखेका छन्, “महँगा कारका लामो लस्करमा उनी विरलै देखिए । न त उनी बलिवुड र क्रिकेट स्टारलाई घरमा बोलाएर समाचारमा छाए ।’ रतन टाटा सन् १९३७ मा भारतको एक उच्चशिक्षित तथा सम्पन्न परिवारमा जन्मिएका थिए । त्यसको तीन वर्षपछि उनका आमाबुवा छुट्टिएका थिए ।
उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका गएका रतन टाटाले ’आर्किटेक्चर’को अध्ययनसँगै गाडी र विमान चलाउन पनि सिके । हेलिकप्टर तथा हजाज चलाउँदा इन्जिनमा समस्या उत्पन्न भएका बेला आफूले ’ग्लाइड’ गरेर बाँचेको उनले एक अन्तर्वार्तामा बताएका छन् । पछिसम्म पनि उनी आफ्नो कम्पनीको जेट विमान आफैँ चलाउँथे ।
सन् १९६२ मा हजुरआमा लेडी नवाजबाई बिरामी परेर फिर्ता बोलाएपछि रतन टाटा भारत फर्किए । त्यति बेला उनकै परिवारका एक सदस्य जेआरडी टाटाले उनलाई टाटा ग्रुपमा सामेल हुन भने । “उनी मेरा सबैभन्दा ठूला मेन्टर थिए । मेरा लागि उनी बुवा र दाजुजस्तै थिए, उनीबारे खासै कुरा गरिएकै छैन,“ एक अन्तर्वार्तामा रतन टाटाले भनेका छन् ।
त्यसपछि उनलाई पूर्वी भारतको जमशेदपुरस्थित स्टील कारखानामा काम गर्न पठाइयो। त्यहाँको व्यवस्थापकको सहायकका रूपमा काम गर्नुअघि उनले कारखानामै केही वर्ष काम गरे । सन् १९७० को दशकमा उनलाई रेडिओ र टीभी तथा कपडा बनाउने दुई ’रुग्ण’ कम्पनीको जिम्मा दिइयो। तीमध्ये पहिलोमा उनी सफल भए भने कपडा कारखानामा मिश्रित परिणाम निकाले।
आधा शतकभन्दा लामो समयसम्म टाटा ग्रूपको नेतृत्व गरेका जेआरडी टाटाले सन् १९९१ मा रतन टाटालाई आफ्नो उत्तराधिकारी नियुक्त गरे। त्यति बेला उनीभन्दा वरिष्ठ अन्य अधिकारीहरू पनि नेतृत्वमा पुग्न चाहन्थे।
“तपाईँले त्यतिबेलाका पत्रपत्रिका हेर्नुभयो भने व्यक्तिगत रूपमा नै आलोचना भएको थियो। जेआरडी नातावादमा फसे भनिएको थियो र मलाई गलत रोजाइका रूपमा चित्रित गरिएको थियो,“ रतन टाटाले धेरै पछि भने । तर उनको नेतृत्वमा टाटा ग्रूप विश्वव्यापी ब्र्यान्डका रूपमा स्थापित हुन थालेको केसीले लेखेका छन् । बीबीसीबाट साभार