Nepal Life Banner

बाँसको र्‍याक बनाएरै जीविकोपार्जन

455
shares

काठमाडौं, १६ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् । बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका छन् ।

लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्‍याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् । व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्‍याकको माग गर्ने भएकाले उनको दैनिकी र्‍याक बनाउनमै बित्छ ।

अहिले र्‍याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत र्‍याक बनाएर बस्नु परेको छ, उनले भने, र्‍याक लिन व्यापारीहरु आफैँ गाडी लिएर आइपुग्छन् । बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ । उनका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा र्‍याक तयार गर्छन् ।

विभिन्न चार आकारको र्‍याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा तीन सय १० देखि पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए । र्‍याक बिक्रीबाटै खर्च कटाएर उनले हाल मासिक औसतमा रु ३० हजार बचत गर्ने गरेको बताए ।

कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट र्‍याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ । ुर्‍याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ,ु उनले भने, छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।

र्‍याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए । सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए । सुरुमा १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर र्‍याक बनाउन सकिन्छ ।