Nepal Life Banner

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् धरानका राजकुमार श्रेष्ठ

286
shares

काठमाडौं, २३ कात्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् । परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन् ।

उनले भने, ‘बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ।’

बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उनले भने, ‘बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।’ उनले सजावटका सामान पनि बनाउन थालेका छन् । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताए । हाल उनको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् ।

बेतबाट बनेका सजावटका सामान रु सात सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट एक बण्डल बेतलाई रु तीन हजार पाँच सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट पाँचवटासम्म सामान बनाउन सकिने भएकाले आफूलाई घाटा नभएको उनले बताए ।