Nepal Life Banner (End Date 5 Magh 2081)

तनहुँमा बाढीले एक करोड बढीको क्षति

325
shares

काठमाडौं, २३ मंसिर । गत असोजको बाढीबाट तनहुँमा एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा  एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा  ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिशत क्षति हुँदा १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा ६० हजार नोक्सान भएको छ ।

देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा  दुई लाख ४० हजारको नोक्सान भएको छ । देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा एक लाख बराबरको नोक्सान भएको छ ।

प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण संकलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।