Dhulikhel Eco Banner new

व्यवसायीलाई हतोत्साहित गर्ने हिंसात्मक गतिविधिप्रति महासंघको कडा प्रतिक्रिया

1.47K
shares

काठमाडौ, १६ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासंघले राजावादीले प्रदर्शनको नाममा शुक्रवार गरेको तोडफोड तथा आगजानीबाट भएको सम्पत्तिको क्षतिपूर्ति माग गरेको छ ।

आन्दोलनका नाममा व्यवसायीहरुको व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, लुटपाट तथा आगजानीबाट भएको क्षतिको क्षतिपूर्ति माग गरेको हो।

तिनकुनेमा भएको प्रदर्शनको क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको हिंसात्मक गतिविधिहरूबाट भएको क्षतिको क्षतिपूर्ति पाउनुपर्ने माग महासंघले गरेको छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शुक्रवार तिनकुनेमा भएको घट्नाको विषयमा केटीएम भ्वाइससँग भएको कुराकानीको क्रममा उक्त घट्ना राजावादीहरुको मात्र नभई केही राजावादी तथा केही गणतन्त्रवादीहरुसँग रुष्ट भएको मानिसहरुको जमातले व्यवसायीहरु माथि प्रहार गरेको जानकारी दिए ।

उनले भने, “ गणतन्त्रवादीहरुले ठूला ठूला सपना देखाएर सपना पुरा गर्न नसक्नु र देश हाँक्न सक्ने युवापुस्तालाई देशको शासनसत्ता हस्तान्तरण गर्न नसक्नुको परिणाम अहिले व्यवसायीहरुले भोग्नु परेको हो । ”

कटुवालले भने, “ २०४६/४७ देखि देशमा जतिपनि आन्दोलन भए त्यसको मारमा व्यवसायीहरुले पीडा भोग्नु परेको भन्दै जिन्दावाद र मूर्दावादको नाराले हामीलाई नै शिकार बनाएको छ, यस्ता खालको घट्नाको हामी घोरभत्सना गर्छौ ।”

उनले सत्तामा रहेका दलहरुले सच्चिन आवश्यक रहेको भन्दै आगामी दिनहरुमा हुने यस्ता खालका आन्दोलन र प्रदर्शनको नाममा व्यवसायीलाई हतोत्साहित गराउने र आतंकित पार्ने गतिविधि गरेमा समग्र मुलुकमा रहेका व्यवसायीहरुले यो दुबै शक्तिको विरुद्ध आफूहरुले कदम चाल्ने समेत चेतावनी दिए ।

आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनी लगायत गतिविधिहरूबाट हरेक पटकका व्यवसायीहरू नै मारमा पर्ने गरेकोले निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको क्षतिपूर्ति सरकारले व्यवसायीलाई दिलाउनु पर्नेमा जोड दिए।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले तिनकुनेको आन्दोलन र प्रदर्शन नभई हिंसात्मक गतिविधि भएको भनेका छन् ।

श्रेष्ठले तोडफोड, लुटपाट र आगजनीलाई प्रदर्शन भन्न नमिल्ने भन्दै हिंसा भएको ठोकुवा गरेका हुन् । उनले व्यवसायीहरुको संरक्षण कसले गर्ने र क्षतिपूर्ति कसले दिने भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले व्यवसायी तथा निजी क्षेत्रको सम्पतिको संरक्षणमा राज्यले ध्यान नदिएको भन्दै अब हुने आन्दोलनमा राज्य पक्षले व्यवसायीको सुरक्षा र संरक्षणमा गम्भिर ध्यान पुर्‍याउनु पर्ने भन्दै यस्ता खालका हिंसात्मक आन्दोलन रोक्न सरकारसँग माग गरे ।

अध्यक्ष श्रेष्ठले भने, हामी विज्ञप्ति निकाल्ने तयारीमा छौँ शनिवार साँझसम्ममा विज्ञप्ति जारी गर्छौ ।