२३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, बोलपत्र आह्वान

वि.सं.२०८१ चैत १७ आइतवार १४:४५
shares

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले ५०० दरका २३ करोड थान नयाँ नोट छाप्ने तयारी गरेको छ। आइतवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नयाँ नोट प्रचलनमा ल्याउने उद्देश्यसहित छपाइका लागि प्रक्रिया अघि बढाएको जानकारी गराएको हो।
नयाँ नोट छपाइका लागि बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म राष्ट्र बैंकमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ड स्टेर्लिङ शुल्क लाग्नेछ।
बैंक नोट छपाइका लागि राष्ट्र बैंकले प्रिक्वालिफिकेसन प्रक्रिया पूरा गरी ६ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको छ। ती कम्पनीहरुमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस, र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस छन्।
छनौटमा परेका यिनै ६ कम्पनीहरुले बोलपत्र पेस गर्न पाउने छन्। सबभन्दा कम लागतमा नोट छाप्ने प्रस्ताव ल्याउने कम्पनीलाई राष्ट्र बैंकले ठेक्का दिने बताइएको छ।