Dhulikhel Eco Banner new

भरतराज ढकालले गरे भ्रष्टाचार प्रयास, राष्ट्र बैंकले चलायो कारबाहीको डण्डा

‘अदालत पुगे राष्ट्र बैंक हार्नेछ,’ ढकालको चेतावनीपूर्ण प्रतिक्रिया

6.33K
shares

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष भरतराज ढकालमाथि बैंकिङ निर्देशन उल्लंघन गरेको ठहर गर्दै कारबाही गरेको छ । राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा ढकाल बैंकको भवन निर्माण समितिमा संयोजकको रूपमा संलग्न रहेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

बैंकको अध्यक्ष आफै भवन निर्माण समितिको संयोजक हुनु भनेको भ्रष्टाचार गर्ने प्रयास गर्नु हो । भ्रष्टाचारको प्रयास भएप्छि ढकाललाई राष्ट्र बैंकले कारबाहीको डण्डा चलाएको पाइएको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार सञ्चालक समितिका अध्यक्षले कुनै पनि आन्तरिक समितिमा संलग्न हुन नपाउने व्यवस्था छ । यसै आधारमा राष्ट्र बैंकले ढकालमाथि नियम विपरीत कार्य गरेको निष्कर्ष निकाल्दै बैंक व्यवस्थापनलाई कारबाहीको निर्देशन दिएको हो ।

तर, ढकालले आफू उक्त समितिमा संयोजक नरहेको स्पष्ट पार्दै राष्ट्र बैंकको निर्णयमाथि असहमति जनाएका छन् । उनका अनुसार भवन निर्माण समितिको संयोजक सालिकराम मिश्र हुन् भने उनी उक्त समितिको एक बैठकमा मात्र उपस्थित भएका थिए ।

उनले भने, ‘भवन निर्माण समितिको संयोजक सालिकराम मिश्र हुनुहुन्छ। म कुनै पनि समितिको संयोजक होइन। मैले कुनै पनि प्रकारको भत्ता लिएको छैन ।’

उनले राष्ट्र बैंकले गहिरो अनुसन्धान नगरी आरोप लगाएको भन्दै अदालतमा मुद्दा पुगेमा राष्ट्र बैंक आफैँ पराजित हुने दाबीसमेत गरेका छन्। ‘यदि अदालतमा गए राष्ट्र बैंक अवश्य हार्छ,’ ढकालले भने ।