सम्पदा लघुवित्तका डिसीईओलाई प्रश्न– लफडाको कारक के हो ?
वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४५
shares

कर्मचारी असन्तुष्टि संस्थाभित्र गम्भीर अ–व्यवस्थापन र नेतृत्वमाथि उठेका गम्भीर प्रश्नहरूसँगै विवादमा तानिएको सम्पदा लघुवित्त वित्तीय संस्थाका सीईओ केशव कुमार पौडेलले पदबाट राजीनामा दिए । सीईओको राजीनामा अघि सीईओ पछिको वरियतामा रहेका डिसीईओ रेशम न्यौपानेलाई सञ्चालक समितिले निलम्बन नै गरेको थियो । एक्कासी आएको सीईओको राजीनामा र संस्थामा भएको भाँडभैलोबारे हामीले डिसीईओ रेशम न्यौपानेसँग केही खोतल्ने प्रयास गरेका छौँ । प्रस्तुत छ, केटिएम भ्वाइसकर्मी सुजिता भण्डारीले न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंशः
सम्पदा लघुवित्तमा के हो लफडा ?
संस्थाभित्र केही असन्तुष्टि र विमति देखिएको हो । कर्मचारीहरुले सेवा सुविधा लगायतका विषयवस्तुमा बोर्डलाई ध्यानाकर्षण गराएका हुन् । कम्पनीमा सामान्य लफडा भएकै हो । कर्मचारीहरुले आफु सेवा सुविधाबाट वञ्चित भएको र आफुलाई भेदभाव गरेको महसुस भएको भन्दै कर्मचारीहरुले संस्थाको सञ्चालक समितिसँग कुरा गरेका थिए ।
तपाईलाई निलम्बन गर्ने सीईओ आफैं पदबाट हट्नु भएको छ, तपाई खुसी हुनुहुन्छ होला नि ?
नितान्त त्यस्तो होइन । सीईओ सरले पद छोडेर मैले त्यो जिम्मेवार पाउने भन्ने होइन् । सीईओ सरले पद छोड्नु मेरो चाहना वा दबाबको कारण होइन । यदि मलाई पदकै लागि अघि बढ्नु थियो वा मैले त्यो खोजेको भए सीईओ पदमा भ्याकेन्सीे नै आउने थिएन ।
सीईओ सरलाई केही समय राखौ भन्ने विषयमा मेरो पनि सल्लाह भएको हो । सीईओ सरले पद छाडेपछि नयाँ व्यक्तिबाट नेतृत्व गर्ने कुरामा आफ्नो सहमति भएर नै भ्याकेन्सी खोलेको हो । भ्याकेन्सी खुल्यो र नयाँ मान्छे आउनुभयो भने त्यसमा मेरो आपत्ति छैन् । भ्याकेन्सी खुल्यो मैले पनि भ्याकेन्सी दिन पाउछु । तर मैले भ्याकेन्सी दिने पक्षमा र त्यो पदमा अहिले आट गरेको भने छैन् । अब नयाँ नेतृत्व आउने वा फरक संस्थाको मान्छे आउने भन्ने छ ।
अहिले आन्दोलन भयो, विमति रह्यो भने साविकको सीईओले भेदभाव गर्यो भनेर साविकका कर्मचारीहरुले एक किसिमको विमति गराउनु भएको छ । भोलि मैले नेतृत्व गदै गर्दाअर्को समूहबाट फेरी विमति हुन सक्दछ । त्यसैले नयाँ नेतृत्व आउने भयो भने सबै कर्मचारीलाई सम्मानजनक व्यवहार गर्नेछ भन्ने अपेक्षासहित हामी सामूहिक सहमतिमा नयाँ नेतृत्व खोजिरहेका छौं । कर्मचारीबाट भन्दा पनि बाहिरको नयाँ नेतृत्वको आवश्यक रहेको छ ।
तपाई माथि गरिएको कारबाही प्रक्रिया अहिले कहाँ पुग्यो के भइरहेको छ ?
कारबाही प्रक्रिया टुंगिएको छ । मेरो निलम्बन फुकुवा भएर र अहिले नियमित रूपमा अफिस गईरहेको छु ।
अब तपाईको योजना के छ ?
संस्थालाई दीर्घकालीन रूपमा सबल, पारदर्शी र दिगो बनाउनेतर्फ केन्द्रित छु । संस्थागत रुपमा संस्थालाई सबल र अब्बल बनाउने तरिकाले काम गर्ने र संस्थालाई जुन मर्जर गरेका छौ संस्थालाई ठुलो बनाउछौ भनेर अपेक्षा गरेका छौ । त्यहि अनुसार काम गर्नेछौँ । कर्मचारीको मनोबल उच्च राख्दै शेयरधनीको अपेक्षा पूरा गर्दै र सेवा ग्राहीलाई प्रभावकारी सेवा दिने वातावरण सिर्जना गर्ने र नयाँ नेतृत्वलाई सपोर्ट गर्ने संस्थामा समस्या आउन नदिने तरिकाको काम मबाट हुन्छ ।
निलम्बन फुकुवा भएछ, तपाईलाई बधाई छ । अब संस्थाको नेतृत्व गर्ने योजना चाहिँ के छ ?
धन्यबाद । यो भन्दा माथिको पदका लागि अहिले नै प्रतिस्पर्धा गर्ने मनस्थितिमा छैन । नेतृत्वमा जानु मेरो तत्काल लक्ष्य होइन । चार–पाँच वर्षमा मैले राम्रो काम गरेँ, शेयरधनी र बोर्डको विश्वास जितेँ भने त्यो अवसर आउन सक्छ । तर त्यो पनि समय, परिस्थिति र संस्थाको आवश्यकतामै भरपर्छ । तथापी चार पाँच वर्षपछि नयाँ नेतृत्वले काम गरोस भन्ने छ ।
तपाई त लामो समयदेखि लघुवित्त क्षेत्रको नेतृत्व तहमा हुनुहुन्छ, तपाईको विचारमा समग्र लघुवित्त क्षेत्रको वर्तमान अवस्था के हो ?
लघुवित्त क्षेत्र हाल सुधारउन्मुख अवस्थामा छ । बैंकहरुबाट पाउने लोन अलि सस्तोमा पाइएको छ । जुन लघुवित्त विरुद्ध आन्दोलन छ । त्यसले गर्दा बाहिरी चुनौतीहरु भने अहिले पनि रहेको छ ।
के लघुवित्तहरु साच्चिकै समस्यामा छन् ?
लघुवित्त संस्थापूर्ण रूपमा समस्याग्रस्त छन् भन्ने होइन । केही समय समस्यामा परेपनि अहिले ती संस्थाहरू सुधारउन्मुख अवस्थामा छन् । हिजो समस्यामा थियो बाह्य प्रभाव पनि थियो । ऋण पाउन निकै गाह्रो अवस्था थियो । अहिले त्यस्तो छैन् । अहिले सुधारउन्मुख अवस्थामा छन् ।





















