नेपाल टेलिकम भ्रष्टाचारमा प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

वि.सं.२०८२ जेठ २५ आइतवार १४:१८
shares

काठमाडौं, २५ जेठ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अदालत स्रोतका अनुसार मुद्दा दर्ताको प्रक्रिया जारी रहेकाले हालसम्म औपचारिक रूपमा दर्ता भइसकेको छैन। आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको हो।
मुद्दामा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई पनि प्रतिवादी बनाइएको छ। पौडेललाई यसअघि भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आरोपमा निलम्बन गरिएको थियो। त्यसपछि २०८१ सालको भदौमा सरकारले संगीता पहाडीलाई नयाँ प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको थियो।
अख्तियारका अनुसार बिलिङ प्रणाली खरिद, व्यवस्थापन तथा सञ्चालनमा सार्वजनिक पद दुरुपयोग गरी संस्थालाई आर्थिक क्षति पुर्याइएको ठहर छ।