Dhulikhel Eco Banner new

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी मास्केलाई

1.09K
shares

काठमाडौं, २८ जेठ । सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी वरिष्ठ प्राविधिक अधिकारी सबिना मास्केलाई दिएको छ। टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रिक्त पदमा मास्केलाई जिम्मेवारी दिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै संगीता पहाडी, टेलिकमका पूर्व अध्यक्ष सुनिल पौडेल, कार्यकारी अधिकृत अमूल प्रधानसहित १८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उक्त मुद्दामा अख्तियारले ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको विगो दाबी गरेको छ। अभियोगमा परेका अन्य व्यक्ति तथा संस्था मध्येमा प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ, चिनियाँ नागरिक होङ वी, लङ यङ र चिनियाँ कम्पनी ‘एसिया इन्फो प्रालि’ छन्।

अख्तियारले सबिना मास्केसँग पनि यसअघि सोही प्रकरणमा बयान लिएको थियो। उनी उक्त समयमा नेपाल टेलिकममा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारीमा कार्यरत थिइन्। यद्यपि उनीविरुद्ध मुद्दा दायर गरिएको छैन।