शान्ति समाज रुपन्देहीद्वारा लागुऔंषध दुर्वसन तथा यातना विरुद्ध कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:१५
shares

काठमाडौं, १२ असार । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलस्थित मणिमुकुन्द कलेजमा ‘लागुऔषध दुर्व्यसन तथा यातना विरुद्धको सचेतना कार्यक्रम’ सम्पन्न भएको छ।
राष्ट्रसंघीय यातना पीडित दिवस तथा लागुऔषध दुव्र्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस (२६ जुन) को अवसरमा आयोजित कार्यक्रममा करिब १५० विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य लालहरी पाण्डेले लागुऔषध तथा मदिरा दुर्व्यसन विरुद्धको अवधारणा प्रस्तुत गर्दै समाज, विद्यालय, परिवार र युवाहरूले मिलेर अभियान चलाउनुपर्नेमा जोड दिए। त्यस्तै, जिल्ला सदस्य सिता पौडेलले यातना उन्मूलनसम्बन्धी अवधारणा प्रस्तुत गर्दै “यातना कुनै हालतमा क्षम्य नहुने” स्पष्ट धारणा राखे।
कार्यक्रममा सहभागी विद्यार्थी र प्राध्यापकहरूले प्रस्तुत विचारपत्रमा प्रतिक्रिया दिँदै समाजमा फैलिँदो दुर्व्यसन र यातना विरुद्ध सामूहिक जागरणको आवश्यकता औँल्याए। मणिमुकुन्द कलेज व्यवस्थापन संकायका संयोजक पशुपति चौधरीले शान्ति समाजलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गरे।
योगगुरु तथा प्राध्यापक राम प्रसाद शर्माले लागुऔषध र मदिरा दुर्व्यसनको असर तथा बच्ने उपायहरूबारे विशेष प्रशिक्षण दिनुभयो। उहाँले युवा पुस्तालाई आत्मविकासमा लाग्न प्रेरणा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए।
शान्ति समाज रुपन्देहीका जिल्ला सभापति अर्जुन ज्ञवालीले युवाहरूलाई लागुऔषध र मदिराबाट टाढा राख्दै सभ्य समाज निर्माणतर्फ अघि बढ्न आह्वान गरे। साथै, उनले ूयातना दिने वा आदेश दिने कसैलाई पनि कानुनी रूपमा कडाभन्दा कडा कारबाही गर्नुपर्छू भन्ने धारणा पनि व्यक्त गरे।
विद्यार्थी सृजन ढकाल र गरिमा काफ्लेले कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै आफूहरू पनि शान्ति समाजको अभियानमा सक्रिय भएर लाग्न इच्छुक रहेको बताए।
कार्यक्रम शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षतामा, कोषाध्यक्ष मोहनिलाल न्यौपानेको स्वागत मन्तव्य र सहसचिव अर्जुन कुवरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य रत्न कंडेल, कलेजका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।