जिम्मेवार संस्था र कानुनबिना क्रिप्टोकरेन्सी खतरनाक छः रामु पौडेल

वि.सं.२०८२ असार २० शुक्रवार ०९:००
shares

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले क्रिप्टोकरेन्सीलाई नेपालमा अवैध घोषित गरिनुको प्रमुख कारण यसको संरचनागत अनिश्चितता र जवाफदेही निकायको अभाव रहेको बताएका छन् । नेपाल टेलिभिजनको ‘वित्तीय साक्षरता’ कार्यक्रममा प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार क्रिप्टोकरेन्सीको संरचना, मूल्य स्थायित्व, नियमनकर्ता निकायको अभाव तथा सोधभर्नाको ग्यारेन्टी नहुनु यसलाई नेपालमा स्वीकार नगर्नुको प्रमुख आधार हुन्।
पौडेलका अनुसार क्रिप्टोकरेन्सी विशेष गरी सन् २००८ पछि विकास भएको हो र यसको उत्पत्तिको ठोस तथ्य अहिलेसम्म पुष्टि हुन सकेको छैन। उनले भने, “क्रिप्टोकरेन्सीभित्र सबैभन्दा धेरै कारोबार हुने र मूल्यवान बिटक्वाइन हो, तर आजसम्म कसले बनायो, कसले निष्कासन गर्छ भन्ने कुरा अस्पष्ट नै छ।”
उनका अनुसार बैंकिङ प्रणालीमा चल्ने फ्याट करेन्सी (जस्तैः नेपाली रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ) भने केन्द्रिय बैंकजस्ता जिम्मेवार निकायले जारी गर्ने भएकाले त्यसमा विश्वास, कानुनी हैसियत र सोधभर्नाको व्यवस्था हुन्छ। फ्याट करेन्सीमा मूल्य स्थिर हुन्छ, त्यसको समर्थनमा सुन वा विदेशी मुद्राजस्ता ब्याकअप सम्पत्ति राखिएको हुन्छ। “हामीकहाँ नोटको पछाडि ‘सोधभर्ना दिनुपर्छ’ भनेर लेखिएको हुन्छ, यसको अर्थ त्यस्तो नोट च्यातिए पनि सरकार वा राष्ट्र बैंकले त्यो मूल्य फिर्ता दिनुपर्छ,” पौडेलले बताए।
तर क्रिप्टोकरेन्सी भने पूर्ण रूपमा डिसेन्ट्रलाइज प्रणालीमा आधारित छ। कुनै सरकार, संस्था वा नियमन निकाय यसमा जिम्मेवार हुँदैन। “हजारौं किसिमका क्रिप्टोकरेन्सीहरू छन्, तर कुनै पनि निकायले यसको मूल्यको ग्यारेन्टी दिंदैन, सोधभर्ना गर्दैन, यसको नियमन गर्दैन,” पौडेलले थपे।
उनले फ्याट करेन्सीसँग तुलनामा क्रिप्टोकरेन्सीको मूल्य एकदमै अस्थिर हुने बताए। “फ्याट करेन्सीको मूल्य सामान्यतया स्थिर हुन्छ र इन्फ्लेसनअनुसार मात्र खरिद शक्ति घटबढ हुन्छ। तर क्रिप्टोकरेन्सीको मूल्य एकै दिनमा १० हजार रुपैयाँले घट्न वा बढ्न सक्छ,” उनले भने।
पौडेलले नेपालको वर्तमान फरेन एक्सचेन्ज रिजिम तथा क्यापिटल एकाउन्ट कन्वर्टिबिलिटी नहुनु पनि क्रिप्टोकरेन्सीलाई वैधानिकता नदिइनुको कारण भएको बताए। “क्रिप्टोकरेन्सीलाई फ्याट करेन्सीसँग साट्न कुनै विनियम संस्थाले आधिकारिक रूपमा जिम्मेवारी लिएको छैन, त्यसैले नेपालमा यसको कारोबार लिगलाइज गर्न सकिँदैन,” पौडेलले प्रस्ट्याए।
बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीहरू सीमित संख्यामा मात्र जारी हुने भएकाले भविष्यमा यसको माग बढ्दा मूल्य अनियन्त्रित रूपमा चुलिन सक्ने सम्भावना पनि उनले औंल्याए। त्यस्तो अस्थिरता र अनियमितताको व्यवस्थापन गर्न कानुनी तथा संस्थागत ढाँचा आवश्यक पर्ने उनको भनाइ छ।
“क्रिप्टोकरेन्सीलाई वैधानिक बनाउने हो भने, त्यसको विनिमय, सुरक्षा, मूल्य स्थायित्व, र उपभोक्ता संरक्षणका लागि कानुनी र नियामक संरचना आवश्यक हुन्छ,” पौडेलले भने। यस्ता संरचना नभएको, जवाफदेही संस्था नरहेको र आर्थिक स्थायित्वमा असर गर्ने जोखिमका कारण नेपालमा क्रिप्टोकरेन्सीलाई गैरकानुनी भनिएको उनले स्पष्ट गरे।
केटिएम भ्वाइसले उत्पादन गर्ने ‘वित्तीय साक्षरता’ कार्यक्रम नेपाल टेलिभिजनको समाचार च्यानलमा हरेक शुक्रबार साँझ ६ः२५ बजे प्रसारण हुँदै आएको छ । टेलिभिजन सेटमा हेर्न छुटाउनेहरुका लागि उक्त अन्तरवार्ता केटिएम भ्वाइसले आफ्नो युटुव च्यानलबाट समेत प्रशारण गर्दै आएको छ ।