नेपाल इन्स्योरेन्सको ३४.७८३ प्रतिशत हकप्रद शेयर साउन ६ गतेदेखि बिक्रीमा

वि.सं.२०८२ असार २० शुक्रवार १०:००
shares

काठमाडौं, २० असार । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३४.७८३ प्रतिशत हकप्रद शेयर साउन ६ गतेदेखि निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।
यस प्रयोजनका लागि कम्पनीले १० बराबर ३.४७८३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। हकप्रद निष्कासनको लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेकोले जेठ २९ गतेसम्म नेप्सेमा शेयर खरिद गरेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति साउन २६ गतेसम्म निर्धारण गरिएको छ। इच्छुक शेयरधनीहरूले एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय तथा पोखराको चिप्लेढुङगा, बुटवलको ट्राफिकचोक, वीरगंजको आदर्शनगर र विराटनगरको गोल्छाचोकमा रहेका शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले बीमा प्राधिकरणको निर्देशनअनुसार आवश्यक चुक्ता पूँजी पुगाउनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो। हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।