GBIME

३१ वर्षीया मेघाले नेविसंघ अध्यक्षमा दाबी गरेकी थिइन्, देउवाले दिए जितपुर सिमराको उपमेयर टिकट

1.18K
shares

काठमाडौँ, १३ वैशाख बाराको जीतपुर(सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर र उपमेयरमा उम्मेदवार बनेका छन्( राजन पौडेल र मेघा शाही।
मेयरमा नेकपा माओवादी केन्द्रबाट राजन पौडेल उम्मेदवार बनेका छन् भने उपमेयरमा नेपाली कांग्रेसबाट मेघा शाही उम्मेदवार बनेकी छन्। उनीहरूले सोमबार उम्मेदवारी दर्ता गरेका छन्।
राजन ०७४ मा मेयर उम्मेदवार थिए। त्यसबेला नेकपा एमालेका कृष्णप्रसाद पौडेलले मेयर जितेका थिए।

यसपालि भने छ महानगर र ११ उपमहानगरमा सत्तागठबन्धनबाट साझा उम्मेदवार बनेका छन्। साझा उम्मेदवार तय गर्दा मेयर माओवादी र उपमेयर कांग्रेसको भागमा परेको थियो।
जीतपुर(सिमराको उपमेयरमा कांग्रेसले युवालाई अघि सारेको छ। नेविसंघ राजनीति गरिरहेकी ३१ वर्षकी शाहीलाई कांग्रेसले उपमेयर उम्मेदवार बनाएको छ।
शाहीको राजनीति बाराको राष्ट्रिय माविबाट सुरू भएको थियो। उनी त्यहाँ इकाइ सभापति भएकी थिइन्।

पछि नेविसंघ जिल्ला कोषाध्यक्ष र उपाध्यक्ष भएकी मेघा ठाकुरराम क्याम्पस वीरगञ्जमा दुई पटक इकाइ सभापति पनि भइन्। साथै नेविसंघको ११ औं महाधिवेशनबाट मधेश प्रदेशमै धैरै मत ल्याएर केन्द्रीय सदस्य बनेकी थिइन्।
पछिल्लो समय उनी नेविसंघ तदर्थ समिति गठन गर्दा नेतृत्वमा दाबी गरेकी थिइन्। उनीसहित नेविसंघ नेताहरूले पार्टी शीर्ष नेताहरूलाई महिलालाई नेविसंघ नेतृत्वमा पुर्याउन ज्ञापन पत्रसमेत बुझाएका थिए।

तर सभापति शेरबहादुर देउवाले नेविसंघ तदर्थ समिति सभापति काठमाडौंका दुजाङ शेर्पालाई बनाए। नेविसंघमा ३२ वर्षे उमेर हद लागू हुँदा देउवा समूहबाट दुजाङ र मेघा नै सभापतिका लागि दाबेदार थिए।
नेविसंघ सभापति बन्ने अवसर नपाएकी मेघालाई यसपालि सभापति देउवाले जीतपुर(सिमराको उपमेयर टिकट दिएका छन्।
कांग्रेस संसदीय दलले महानगर र उपमहानगरको टिकट बाँड्ने अधिकार सभापति देउवालाई सुम्पेको थियो।

उपमेयरमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग सोमबार कुराकानी गर्दै मेघाले नेविसंघको राजनीतिबाट आफू अब पार्टीको मुलधारको राजनीतिमा आएको बताएकी थिइन्।
‘युवाहरू नेताका पछि लाग्ने होइन, नेतृत्व गर्ने हो,’ मेघाले भनिन्, ‘देश बनाउन युवाको सोच र शक्ति प्रयोग गर्नुपर्छ।’
उनले आफू उपमेयर जितेमा न्यायिक समितिको काम गर्न पाउने र कानूनको विद्यार्थी भएकोले सजिलो हुने पनि बताइन्।

उनले उपमहानगरभित्र शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्न आफूले चाहेको बताएकी छन्। ‘हाम्रो उपमहानगरमा धेरै उद्योगहरू छन् तर यहीका मानिस बेरोजगार छन्,’ उनले सेतोपाटीसँग भनिन्, ‘म उपमेयर भएँ भने शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्छु।’

Dhulikhel Eco Resort 1200*100