एमआरपी उल्लंघन गर्ने तीन फर्मलाई ४ लाख ९५ हजार जरिवाना

वि.सं.२०८२ असार २० शुक्रवार १०:१५
shares

काठमाडौं, २० असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआपी) मा अनियमितता गर्ने व्यवसायिक फर्महरूमाथि कारबाही तीव्र बनाएको छ। विभागले बिहीवार काठमाडौँ उपत्यकामा गरिएको अनुगमनका क्रममा तीन कम्पनीलाई कूल ४ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको छ।
ललितपुर महानगरपालिका–९ मा रहेको एस.एम. ओभरसिज लाई २ लाख ५ हजार रुपैयाँ, काठमाडौँ महानगरपालिका–११ मा रहेको म्याजेस्टिक कलर्स सिभिल लाई २ लाख रुपैयाँ र भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित समादेवी बिल्डिङ मटेरियल्स लाई ९० हजार रुपैयाँ जरिवाना गरिएको हो।
विभागले अनुगमनका क्रममा एक दर्जनभन्दा बढी फर्महरूको निरीक्षण गरेको थियो। तीमध्ये केही व्यवसायहरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
ती फर्महरूमा मध्यपुर थिमिस्थित दशवरी ईलेक्ट्रिक हाउस, काठमाडौंका सी।बी। ब्रदर्श इन्टरप्राइजेज, सन्तोष इन्टरनेशनल, तथा तेजस इम्पेक्स प्रा।लि। रहेका छन्।
यसबाहेक, अनुगमनमा परेका अन्य नौ व्यवसायिक फर्महरूलाई सामान्य निर्देशन दिई छाडिएको छ। उनीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार मूल्य सूची अनिवार्य राख्न, खरिद तथा बिक्रीको बिलबिजक व्यवस्थित राख्न र व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराइएको विभागले जनाएको छ।