कर्मचारी सुरक्षण कोषको १ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्दै राष्ट्र बैंक
वि.सं.२०८२ मंसिर २६ शुक्रवार १२:५३
shares

काठमाडौं, २६ मंसिर । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले मंसिर २८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई आह्वान गरेको हो।
राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा राख्ने जनाएको छ। यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्मका लागि ३६६ दिन अवधिको रहनेछ।
निक्षेपका लागि योग्य हुन बैंक तथा वित्तीय संस्थाले कम्तिमा २ वर्ष सञ्चालनमा रहेको, न्युनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा सापटी ५ प्रतिशतभन्दा कम रहेको तथा तरल सम्पत्ति खुद निक्षेपको कम्तिमा २० प्रतिशत पुगेको हुनुपर्नेछ। त्यस्तै रियल स्टेट कर्जा तोकिएको सीमा भित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा भएको तथा सर्वसाधारणका लागि शेयर जारी गरेको जस्ता सर्तहरू पनि पूरा गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
















