Dhulikhel Eco Banner new

राष्ट्र बैंकले ६ अर्ब ६० करोड मुद्दति निक्षेप लगानी गर्ने

3.04K
shares

काठमाडौं, २६ मंसिर । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने घोषणा गरेको छ। यसका लागि राष्ट्र बैंकले मंसिर २९ गते राति ७ बजेसम्म व्याजदर प्रस्ताव पेस गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको हो।

लगानी हुने कुल रकममध्ये ५ अर्ब २८ करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, ९९ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र ३३ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा राखिने जनाइएको छ। यो मुद्दति निक्षेप सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुनेछ।

राष्ट्र बैंकका अनुसार कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेका, न्युनतम पुँजीकोष कायम गरेका, निष्कृय कर्जा अनुपात आठ प्रतिशतभन्दा कम रहेका, तरल सम्पत्ति–खुद निक्षेप अनुपात बीस प्रतिशत वा सोभन्दा बढी भएका, रियल स्टेट कर्जा तोकिएको सीमा भित्र रहेका, अघिल्लो आर्थिक वर्षमा मुनाफामा रहेका र सर्वसाधारणका लागि शेयर जारी गरेका बैंक तथा वित्तीय संस्थामात्र मुद्दति निक्षेप लगानीका लागि योग्य हुनेछन्।