GBIME

‘रातारात कमाउने प्रवृत्तिका कारण सहकारीमा समस्या आयो’

4.67K
shares

काठमाडौं, २९ फागुन । पछिल्लो समय सहकारीमा समस्या आएको छ । समस्या आउनुका कारणहरु खोजि गर्नु पर्ने हुन्छ । हामी त सहकारी भन्दा छुट्टै किसिमका नियामक निकाय हौँ । हामीलाई सहकारीलाई नियमन गर्ने कुनै अधिकार नै छैन । नेपाल राष्ट्र बैंकले क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरुको नियमन र अनुगमन गर्ने काम गर्छ । तर सहकारीलाई नियमन गर्ने विषय हाम्रो अधिकारभन्दा बाहिरको कुरा हो । हामीलाई ऐनले दिएको अधिकार पनि त्यहि नै हो ।

पछिल्लो समय सहकारीमा समस्या आउदै गएपछि राष्ट्र बैंकलाई गाली आउन थालेको छ । तर राष्ट्र बैंकले यसमा केही पनि गर्न सक्दैन भन्ने विषयमा सहकारीमा बचत गर्नेहरुले नबुझेको देखियो । हुन पनि आफूले कमाएको सम्पूर्ण जायजेथा नै डुब्न लागेको अवस्थामा आक्रोशित हुन पनि स्वाभाविक नै होला तर क्षत्राधिकारका विषयमा भने केही जानकारी हुन पर्ने हो । बचत गरेको रकम डुब्ने हो कि भन्ने सबैमा चिन्ता हुनु त स्वाभाविक नै हो । अनि कतै कसैले यसको समाधान गरिदिए हुन्थ्यो भन्ने हुन्छ । यसलाई अस्वभाविक मान्न मिल्दैन ।

आफ्नो मनमा भएको तृष्णा कसरी र कसलाई पोख्ने भनेर यसरी गाली आउछ । हामीले त्यो पीडा बुझेका छौँ । तर ऐनले हामीलाई जबसम्म त्यसको आधिकारिक निकाय भनेर तोक्दैन तबसम्म हामीले केही कदम चाल्न सक्ने अवस्था हरदैन । यहाँ उत्पन्न भएको मूख्य समस्या भनेको हामीले च्याउसरी सहकारी स्थापना गर्न दियौँ । त्यसको लागि व्यवस्थित नियम कानुन बनाउनु पथ्र्यो त्यो गर्न सकेनाैँ ।

यद्यपी हामीलाई २०४६/४७ सालमा बहुदल आएपछिका दिनहरुका वित्तीय पहुँच बढाउनका लागि फाइनानसियल इन्क्लुजनका लागि यो सहकारी संस्थाहरु अत्यन्तै आवश्यकता थियो । त्यो हिसाबले सहकारी संस्थाहरु स्थतापन गर्ने पोलिसी आयो । तर त्यती हुँदाहुँदै पनि व्यवस्थित नियम बनाएर निश्चित संख्यामा सहकारीलाई राख्न सकेको र पुँजी वृद्धि गरेर अगाडि बढाएको भए आज यो समस्या आउदैन थियो होला ।

देशैभरिबाट च्याउ उम्रेसरी सहकारी स्थापन हुदा देशमा सहकारीको संख्या ३३/३४ हजार पुग्न गए । त्यो हँदाखेरी साना संस्थाहरु एक करोडमा २ करोडमा संस्थाहरु स्थापना हुने अनि ५ देखि ७ जनालाई कर्जा दिएपछि त्यसको पैसा सकियो । त्यसको लागि कुनै इन्स्योरेन्स पनि नहुने ब्याकअपको व्यवस्था पनि नहुने र भोली त्यस संस्थाले पैसा दिन सकेन भने त्यसको जिम्मेवारी को हुन्छ त ? कसले दिन्छ पैसा राष्ट्र बैंकले त दिँदैन ।

सहकारी भनेको केहो ? यसले उत्पादन बढाउनुपर्ने, बचतकर्ताहरुबीचको कारोबारलाई बढवा दिनुपर्ने, उत्पादन बढाउने रोजगारी बढाउने र मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले सहकारी खोलियो । तर पछि सहकारी कस्तो भयो भने कसरी रातारात धनी हुने कसरी सीईओहरुको तलब बढाउने भन्नेमा सिमित भयो । शेयर लगानी गरेर हुन्छ की जग्गामा लगानी गरेर त्यो बेचेर टन्ने कमाउन सकिन्छ भन्ने खालका प्रवृतिहरु देखिए । अनि त्यो विषयमा अनुगमन गर्ने निकाय वा सरकारी निकायहरुलाई व्यवस्थित गर्न नसकेका कारण आज यस्तो समस्या आयो ।

सहकारी संस्थाहरु धेरै जन्मिदा ल्याक अफ एक्सपर्टिज भयो । पछि आउने जोखिमलाई कसरी लिने भन्ने कुराको ज्ञान पनि भएन । अनि थोरै पुँजीमा संचालन हुने भएकाले नयाँ टेक्नोलोजीहरुलाई भित्र्याउन सक्ने अवस्था पनि भएन । सहकारी ऐनमा अहिले ५० करोडभन्दा माथिका सहकारीलाई राष्ट्र बैंकले हेर्नुपर्छ भन्या छ । तर राष्ट्र बैंकले हामीलाई त्यस्तो खालको सुविधा दिएकै छैन । अनि सानो संस्था संस्थामा आवद्ध व्यक्तिहरु पनि आफ्ना नातेदारहरु मात्रै रहने भएकाले त्यसमा प्रतिस्पर्धाको वातावरण पनि सिर्जना भएन । त्यसकारण सहकारीमा समस्या आएको हो । तर यो अवस्था आउनुको मुख्य कारण भनेको अन्तराष्ट्रिय क्राइसिस नै हो ।

कोभिड र कोभिडपछि युक्रेन युद्धको समस्याको मुख्य कारण हो । संसारभरि यसको असर रहेको छ । यस्तो अवस्थालाई ढाडस दिनका लागि हामीले राम्रो ब्याकअप गर्न सकेका छैनाँै । त्यो कारणले गर्दा हामीलाई समस्या छ । अहिले आएका मापदण्ड र निती नियमहरुले गर्दा अलि सहज हुनुपर्ने हो तर हुन नसकेको अवस्था छ । अब आगामी दिनहरुमा के गर्ने भन्दा मनिटरिङका पक्षलाई एक्सटेन्सन गर्नुपर्ने भएको छ र सहकारी क्षेत्रमा पनि मर्जर एक्वीजिसनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । आवश्यक परेको खण्डमा त्यही संस्थाका ब्रान्चहरु थपेर अगाडि बढ्नुपर्छ । र अर्को कुरा ऐनका कुराहरुलाई विशेष ध्यान दिनुपर्छ ।

(शिवाकोटी नेपाल राष्ट्र बैंकका सञ्चालक हुन् । उनले आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आयोजना गरेको सहकारीमा संकट : कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश)