GBIME

सुरु नहुँदै सकिने संकेत

3.24K
shares

०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिँदा गाउँ घरका चोक चौतारीदेखी शहर बजारका चिया दोकानमा जम्मा हुनेहरु मध्ये ‘ज्ञानेन्द्रले ठिक गरे’ भन्नेहरु थुप्रै थिए ।

तत्कालिन माओवादीले गरेको ‘जनयुद्ध’ उत्कर्षमा थियो । गाउँ गाउँमा माओवादी कार्यकताले कांग्रेस, एमाले र राप्रपाको कार्यकर्तालाई छानी छानी प्रहार गर्थे । सरकारी सुरक्षाकर्मीको ज्यादती उस्तै थियो । मैलो कपडा लगाउने मान्छे देख्नै हुन्थेन । माओवादीको अभियोगमा पक्राउ गरिहाल्थे । कति बेपत्ता भए, कतिको अंगभंग तुष अझै मेटिएको छैन ।

सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ताका लागि हानथाप गर्दै थिए । अहिले कोशी प्रदेशमा देखिएको जस्तै रमिता थियो । प्रमुख राजनीतिक दलका नेताहरुले देश बनाउने एजेण्डा बिर्सिएर मात्रै सरकार बनाउने र गिराउने खेल खेलिरहेका थिए ।

आम सर्वसाधारणमा एक खालको दिक्दारी थियो । दलहरुको व्यवहारबाट निराश सर्वसाधरणले ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि राम्रै पो गर्छन् कि भन्ने आशमा ‘ठिक गरे राजाले’ भनेका थिए । शासनसत्ता हातमा लिएका ज्ञानेन्द्रले मन्त्रिपरिषदमा यस्ता पात्र छान्न थाले, जसबाट नेपाली समाजले कुनै अपेक्षा गर्ने अवस्था थिएन । दलिय राजनीतिमा लागेर बिग्रिएको भन्दा पनि खराब थिए उनले छानेका पात्रहरु । तिनै खराब मान्छेको संगत गरेकै कारण ज्ञानेन्द्र सत्ताबाट मात्रै बाहिरिएनन् । २४० वर्षदेखी सक्रिय रहेको राजसंस्थालाई नामेट पारिदिए ।

काठमाडौंबाट निर्वाचित मेयर बालेन शाहले कतिपय सन्दर्भमा ज्ञानेन्द्रकै शैली अपनाउन थालेपछि उनको पनि राजनीति सुरु नहुँदै सकिने संकेत देखिएको छ । छोटो समयमै चामत्कारिक छबी बनाएर काठमाडौं महानरपालिकाको मेयरमा निर्वाचित बालेन सामाजिक सञ्जालमा सबै भन्दा धेरै प्रभाव जमाउने नेताका रुपमा चिनिन्छन् । मिडिसँग नबोल्ने तर, आफुलाई लागेका कुरा सामाजिक सञ्जाल मार्फत ब्यक्त गर्ने बालेनको शैलि एकथरी युवा पुस्तालाई औधी मन पर्छ । आफ्ना अभिब्यक्ति माथी आफ्नै प्रसंसकले गरेको रियाक्ट, लाइक र कमेन्टबाट हौसिएका बालेन बेला बेलामा धैर्य नै गुमाउन पुग्छन्, जसरी ज्ञानेन्द्र शाहले आशेपासेको ‘हजुरले सत्ता लिइबक्सन पर्यो’ भनेको कुरा सुनेर राजसंस्थालाई नै नामेट पारेका थिए ।

मुलुकमा पछिल्लो समय देखिएको बेथितीबाट वाक्क दिक्क भएकाहरुका लागि बालेन भरोसायोग्य पात्र बनेर प्रस्तुत भएका छन् । ति पात्रहरुको भावना अनुकुल हुने गरि बालेन दलका शीर्ष नेता, सर्वोच्च अदालत, सिंहदरबारको उछित्तो काढ्छन् भने छिमेकी मुलुक भारत र चिनको विरोध गर्न समेत पछि पर्दैनन् ।

कतिपयलाई लाग्दो हो बालेनले अब देश बनाउछन् । भ्रष्टाचार विरुद्ध कठोर भएर प्रस्तुत हुनेछन् र सुशासनका पक्षमा चट्टान भएर प्रस्तुत हुनेछन् । बालेन माथी यति धेरै भरोसा गर्नु भनेको माघ १९ ताका ज्ञानेन्द्र शाहले देश बनाउँछन् भनेर सोचे जस्तै हो ।

हो, बालेनले सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध जुन अभियान सुरु गरेका छन्, आफैंमा राम्रो हो, फूटपाथ अतिक्रमण हटाउनुलाई पनि खराबै भन्न नमिल्ला तर,एउटा युवा नेताले आफ्नो चुनाव क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका मान्छेलाई ‘भेडाबाख्रा’ सरह ठान्छ भने उसले देश बनाउछ भनेर कसरी विश्वास गर्ने ?

सामाजिक सञ्जालबाट केही घन्टापछि बिलाएको उनको फेशबुक स्टाटसकै कुरा गरौं न । ट्राफिक प्रहरीले नियम अनुसार गरेको एउटा कर्मलाई उनले यसरी ब्याख्या गरे । मानौ कोटेश्वर चोकमा रहेको ट्राफिक प्रहरीले ‘महारानी सवार’ गाडीलाई चेकजाँच गरेर संविधानकै बर्खिलाप गरे ।

यदि बालेनमा वास्तवमै नेतामा हुने गुण थियो भने भन्न सक्नु पथ्र्यो । ‘विदाको दिन चलेको सरकारी गाडी चेकजाँच गरेर राम्रो ग-यौं ।’ उनले सहनै सकेनन् । आफ्नो श्रीमती सवारी गाडीलाई चेक गरेकै कारण उनले लेखे ‘आजको लागि केही भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

उनको स्टाटस सार्वजनिक भए लगत्तै उनका अनुयायीहरु बुरुक्क उफ्रिए । स्टाटसमा लाइक्स र कमेन्ट त कति हो कति । कसैले ‘मेयरले यस्तोे भाषा बोल्न सुहाउदैन ।’ भन्यो भने उनका अनुयायीहरु जाइलागि हाल्थे । बालेनले लेखेको गलत कुरालाई सही हो भन्नेहरु लाख बढी थिए । थोरै थिए बालेनले ठिक गरेनन् भन्ने । यतिसम्म कि भोलीपल्ट उनले सचिवालयलाई बिज्ञप्ती जारी गर्न उर्दि जारी गरे । आठ मिनेट बढी ट्राफिकले केरकार गरेको भन्दै सचिवालयले बालेनको उर्दी अनुसारकै विज्ञप्ती पनि जारी ग-यो । उनका अनुयायीहरु थप हौसिँदै थिए तर, भोलीपल्ट बालेन आफैं गले र फेशबुकमा लेखेको स्टाटस डिलेट गरे । श्रीमती चढेको सरकारी गाडीलाई ट्राफिक प्रहरीले चेक गरेकै सन्दर्भमा बालेनको रिसाएको प्रसंगबाटै थाहा हुन्छ । बालेनमा एउटा नेतामा हुनु पर्ने गुण कत्ति पनि छैन । क्रुर शासकको गुण बेला बेलामा देखिन्छ । क्रुर शासकको आयु यो युगमा सम्भव छैन भन्नेमा उनी सचेत भए जस्तो लाग्दैन

ओली, प्रचण्ड र देउवाका विकल्प हुन सक्दैनन्

अहिले नेपालको सबै भन्दा ठूलो समस्या भनेको भ्रष्टाचार हो । दलिय संयन्त्रको आडमा हुने भ्रष्टाचार पहिला सिंहदरबारमा सिमित थियो अहिले वडासम्म पुगेको छ । पार्टीलाई पैसा बुझाएर टिकट लिनु पर्ने, लाखौं खर्च गरेर मात्रै चुनाव जितिने र जितेपछि पहिला गरेको लगानी उठाउनै पर्ने जुन खराब थिती बनेको छ यो थिती ओली, प्रचण्ड र देउवाले सुरु गरेका हुन् ।

कतिलाई लाग्दो हो ओली, प्रचण्ड र देउवाका विकल्प बालेन हुन्छन् । अहं यो सम्भव छँदै छैन । यसको अर्थ ओली, प्रचण्ड र देउवाकै रजगज चल्छ भन्ने होइन् । यी तीनै जना नेताहरुलाई ठूलो भ्रम छ । म नै सबै भन्दा चतुर, तिक्ष्ण र विवेकवान छु । म नभए मेरो पार्टी सकिन्छ ।’ जबसम्म तीनजना ‘बा’हरु नेतृत्वमा रहिरहन्छन् तबसम्म यी पार्टीहरु कुँचो भइरहन्छन् । यी तीन जनाको नेतृत्वमा यी पार्टीहरुको विस्तार हुने सम्भावना छैन । तर, विकल्प बालेन हुँदैनन् । पार्टीभित्रै छन् बालेन जत्तिकै क्षमतावान थुप्रै युवाहरु र तिनले नै पार्टी हाँकेको दिन फेरि गति लिने यीनै पार्टीहरु हुन् ।

 एउटा चुनाव फेरी जित्छन्

बालेन मेयरमा निर्वाचित भएको १६ महिना पुरा हुनै लाग्यो । चुनावपछि उनको क्रेज घटेको छैन । ‘सिंहदरबार जलाउछु’ भन्दा ठिक भन्यौ हामी साथमा छौं भन्नेहरुका लागि बालेनले खास केही गर्न पर्दैन बाँकी तीन वर्ष ८ महिना यस्तै यस्तै बोले पुग्छ । अब हुने चुनावमा मेयर वा काठमाडौंकै कुनै क्षेत्रबाट प्रतिनिधी सभा सदस्य उठे भने बालेनलाई चुनाब जित्न सकस पर्ने छैन । अहिले जुन हर्कत देखाइरहेका छन्, यस्तै ब्यहोरा देखाइरहे भने बालेनलाई ‘नानीमैया दाहाल–२’ हुनबाट कसैले रोक्न सक्ने छैन ।

Premier Steel Banner