Nepal Life Banner (End Date 5 Magh 2081)

अर्थका कर्मचारीलाई ५ बजे पछि पनि घर नजान सर्कुलर, सचिब बिदामा

5.53K
shares

काठमाडौं, १५ साउन । अर्थ मन्त्रालयले कर्मचारीहरुलाई ५ बजे पछि पनि घर नजानका लागि भनेको छ । आइतबार अर्थमन्त्रीको पदवहाली हुने भएकाले कर्मचारीहरुलाई ५ बजे पछि पनि मन्त्रालयमै बस्नका लागि मन्त्रालयले सर्कुलर जारी गरेको हो ।

अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त हुने निश्चित नै भइसकेको छ । अर्थमन्त्री आउने भए पनि मन्त्रालयले कर्मचारीलाई ५ बजेपछि पनि बस्नका लागि आग्रह गरेको छ तर अर्थसचिव भने बिदामा बसेका छन् । जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा रहेसम्म मन्त्रालयमा नआउने बताउँदै आएका सचिव मधुकुमार मरासिनी भने पोखरामा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

उनले असार २२ गते शर्माले मन्त्री पद नछाडेसम्म मन्त्रालयमा नफर्किने भन्दै बिदा लिएका थिए । तर शर्माले सोही दिन राजीनामा दिए पछि उनी भोलिपल्ट देखिनै काममा फर्किएका थिए । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्री शर्मालाई स्वागत गर्न कर्मचारीहरुलाई सर्कुलर नै जारी गरेको छ । अर्थसचिव बिदामा बसेपछि राजस्व सचिवको नेतृत्वमा मन्त्री शर्माको स्वागत गरिने भएको छ । अहिले राजश्व सचिव कृष्णहरि पुष्कर रहेकका छन् ।

बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्मामाथि छानविन गर्न विशेष संसदीय समिति गठन भएको थियो । उक्त समितिले गत शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाइसकेको छ । छानबिन समितिले शर्मा निर्दोष रहेको प्रतिवेदन दिए पछी शर्मा फेरि अर्थ मन्त्रालय फर्कन लागेका हुन् ।