GBIME

वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै

1.31K
shares

काठमाडौं, २१ चैत । नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीको संख्या हरक वर्षजस्तो बढीरहेको छ । कोरोनाको समयमा बाहेक अन्य समयमा नेपालबाट विदेश जाने नेपालीको संख्यामा वृद्धि भइरहेको छ । नेपालबाट महिलालाई वैदेशिक रोजगारीमा जानका लागि कडाइ गरेको छ । तर पनि कामको खोजिमा विदेश जाने नेपाली चेलिहरुको संख्या हरेक वर्ष जस्तो बढ्दै गएको देखिएको छ ।

केही समय अघि सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालबाट विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या २१ लाख ९० हजार ५९२ रहेको छ । यी मध्ये करिब ४ लाख महिलाहरु विदेशमा रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ३ लाख ९० हजार ९१७ जना महिलाहरु विदेशमा रोजगारीका लागि गएका छन् ।

नेपालबाट विदेशमा रोजगारीका लागि जाने महिलाहरु पहाडी क्षेत्रका रहेका छन् । पहाडी क्षेत्रबा २ लाख ३ हजार महिला विदेश गएका छन् । तराइबाट १ लाख ५३ हजार ६६७ र हिमाली क्षेत्रबाट ३४ हजार २४९ जना विदेश गएको तथ्यांक छ ।

नेपालबाट सरकारले सन् १९८५ मा वैदेशिक रोजगार ऐन ल्याएर वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने काम भएको थियो । विदेश जाने ऐन ल्याएको भए पनि महिलाहरुलाई भने विदेश जानका लागि कडाइ गरिएको थियो । हाल नेपाल सरकारले १११ देशमा श्रम स्वीकृति खुला गरेको छ । तर १७० भन्दा बढी देशमा नेपालीहरु रोजगारीको खोजिमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार पछिल्लो ७ आर्थिक वर्षको अवधिमा नेपालबाट २ लाख १९ हजार ५५८ जना महिला रोजगारीको लागि विदेश गएका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि आर्थिक वर्ष २०७८÷७९ सम्ममा नेपालबाट उक्त संख्यामा नेपाली महिलाहरु कामको खोजिमा विदेश गएको विभागको तथ्यांक छ । २०७२÷०७३ मा नेपालबाट ३१ हजार ९३४ जना महिला विदेश गएका थिए । त्यस्तै आव २०७३÷०७४ मा ३३ हजार ५२० जना, आव २०७४÷०७५ मा ३२ हजार ९६४ जना, आव २०७५÷७६ मा ३२ हजार १२३, आव २०७६÷७७ मा २८ हजार ४३३, आव २०७७/७८ मा ११ हजार ४५६ र आव २०७८÷७९ मा ४९ हजार १२८ महिला बिदेसिएका छन् । त्यस्तै चालु आर्थिक वर्षको फागुन महिनासम्म नेपालबाट ४८ हजार ३५४ जना रोजगारीका लागि विदेश गएका छन् ।
नेपालबाट युएई, कुवेत, मलेसिया, साइप्रस, क्रोएसिया, बहराइन, रोमानिया, जोर्डन लगायत देशमा नेपाली महिलाहरु रोजगारीका लागि जाने गरेका छन् ।

सरकारले सन् १९८५ मा वैदेशिक रोजगार ऐन ल्याएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई व्यवस्थित कानुनको दायरामा ल्याएको थियो । तर, महिलालाई भने सहज तरिकाले रोजगारीमा जान सक्ने व्यवस्था गरेको थिएन । सरकारले महिला श्रमिक वैदेशिक रोजगारीमा जान पुरुष अभिभावकको स्वीकृति पहिलो सर्त बनाएको थियो । सन् १९९८ सम्म यो सर्तको अनिवार्य भएको थियो ।

सन् १९९८ मा कुवेतमा घरेलु हिंसामा परेकी महिलाले आत्महत्या गरेपछि सरकारले महिलालाई खाडी मुलुक जान प्रतिबन्ध लगायो । तर, महिला श्रमिकको हकहितका काम गर्दै संघसंस्थाको चर्को विरोधपछि सरकारले सन् २००३ मा प्रतिबन्ध खुलायो । तर, सरकारले घरायसी काममा भने जान नपाउने व्यवस्था गरेको छ ।

Dhulikhel Eco Resort 1200*100