GBIME

ब्याजदरमा अपनाउनुपर्ने संयम

1.31K
shares

अहिले बैकिङ क्षेत्रमा अर्थतन्त्रको अवस्था राम्रो सुनिएको छैन । व्यवसायीहरुलाई बैंकको साँवा र ब्याज तिर्न गाह्रो भएको देखिएको छ । यस कारणले अघिल्लो वर्षमा पनि प्रोभिजनहरु र एनपिहरु बढ्ने बेफाइदा आएका थिए । अहिले पनि ऋणको ब्याजदर बढ्ने र लामो समयका ऋणहरु बढ्ने हुनसक्छ । बैंक तथा वित्तीय संस्थाहरुसँग करिब साढे २ सय अर्ब ऋण दिने मिल्ने पैसा छ । तर ब्याजदर बढेसँगै बैंकको ऋण लिने माग भने एकदमै कम छ ।

एकातिर कर्जाको माग पनि छैन र बैंकहरुलाई कर्जा दिन पाए हुन्थ्यो भन्ने पनि छैन किनकि ऋण दिएकै पैसा उठाउन गाह्रो भइरहेको छ । यस्तो अवस्थामा कर्जा दिन पाए हुन्थ्यो भन्ने पनि कम हुन्छन् । त्यसकारण बजार एकदमै ढिला भएको छ । अहिले अन्तराष्ट्रिय अर्थतन्त्र नै एकदम ढिला रहेको छ । यसमा अर्थतन्त्र नै ढिला भएपछि बैंक तथा वित्तीय संस्था त सुस्त हुने नै भयो ।
अहिले कतिपय देशहरुको तुलनामा हामी त्यति नराम्रो अवस्थामा चाहिँ छैनौं । पाकिस्तान र श्रीलंकाको अर्थतन्त्रको तुलनामा त हाम्रो त्यति नराम्रो छैन ।

अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको हाम्रो सरकारी वित्त हो । हाम्रो अहिले जति राजस्व उठेको छ, त्यो राजस्वले साधारण खर्च गर्न समेत नपुगेको अवस्थामा विकास खर्चको कुरा छाड्नुपर्छ । सबैभन्दा ठुलो चुनौती यो हो । यसका लागि हामीले पहिलो काम राजस्व बढाउनतिर लाग्नुपर्छ । राजस्व बढाउन अहिले भन्सार बोर्ड एकदमै कमजोर भएको भन्ने समाचारहरु आइरहेका छन् । बोर्डरतिर १६० हो १५० मा पाइने भन्ने आइरहेको छ । त्यसलाई कडा गर्नुपर्यो । यसलाई कडा गर्यो भने राजस्वमा सुधार आउँछ । साधारण खर्च कतिसम्म हुन्छ भनेर एकदमै आक्रमक तरिकाले घटाउनुपर्यो । विकास खर्चमा ध्यान दिँदै काम गर्ने ठेकेदारहरुलाई समयमै भुक्त्तानी गर्नुपर्यो । त्यो गर्यो भने अर्थतन्त्रमा सुधार आउँछ होइन भने अर्थतन्त्र यस्तै सुस्त भएर जान्छ ।

आम्दानी भन्दा खर्च बढी हुने आम्दानी चाहिँ नहुने स्थिति हुनु हुँदैन । पोहोर जति राजस्व उठेको थियो । त्यसको १४/१५ प्रतिशत भन्दा कम उठ्ने स्थिति छ । जब कि हामीलाई त्यो भन्दा बढी उठ्नुपर्ने थियो । हामीले राजस्व धेरै बढ्छ भनेका थियौँ । अघिल्लो वर्षको ८/९ महिनामा जति राजस्व उठेको थियो । अहिलेको ८/९ महिनामा त्यो भन्दा कम उठेको छ, यो चाहिँ सबैभन्दा ठुलो चुनौती हो । अब बाहिरी क्षेत्र हामी ठिकै ठिकै छौं । भुक्त्तानी सन्तुलन पनि ५० प्रतिशतमा छ । व्यापार घाटा पनि नियन्त्रणमै छ । रेमिट्यान्स आइरहेकै छ । त्यसले गर्दा पनि भुक्त्तानी सन्तुलन सकारात्मक छ र विदेशी मुद्रा सञ्चिति पनि सुध्रिएकै छ तर यसलाई हामीले धेरै ढुक्क भएर स्थायी रुपमै यो समस्याको समाधान भयो भन्ने खालको स्थिति छैन ।

अस्थायी रुपमा मात्रै अलिकति सन्तुलन आएको हो । स्थायी रुपमा समस्याको समाधान भयो भन्ने अवस्था चाहिँ होइन । अस्थायी रुपमा मात्रै अलिकति सन्तुलनमा आएको हो । बाह्य क्षेत्र स्थायी रुपमा सन्तुलन आउन हामीले आयातलाई घटाउनुपर्छ । आफैले उत्पादन गरेर प्रतिस्थापन गर्नुपर्छ । निर्यातलाई हामीले प्रवद्र्धन गर्न सक्यौं भने बाह्य क्षेत्र दिगो रुपमा हामीले सन्तुलनमा राख्न सक्छौं । होइन भने एक डेढ वर्षको अवधिमा एकदमै खराब हुने वा सामान्यमात्रै रहने खालको साइकमा जान्छौं ।

ब्याजदर अरु देशमा पनि यसरी नै बढेको छ तर अरु देशमा कति बढेको छ र हाम्रो देशमा कति बढेको छ भनेर तुलना गर्नुपर्ने हुन्छ । म पाकिस्तान र श्रीलंकासँग त तुलना गर्न चाहन्न । पाकिस्तान र श्रीलंका भनेका एकदमै खराब अर्थतन्त्र हुन् । हामीले राम्रो अर्थतन्त्रसँग दाज्ने हो । राम्रो अर्थतन्त्र भएको छिमेकी मुलुक भारत हो । तिनतिर बोर्डर छ । हाम्रो २ तिहाइ व्यापार भारतसँग छ । हामीले भारतसँग तुलना गर्नु उपयुक्त्त देखिन्छ । भारतमा पनि ब्याजदर बढेको छ । भारतमा एक वर्षमा कर्जाको ब्याज साढे ८ प्रतिशतले बढ्दा हाम्रोमा साढे ३५ प्रतिशतले बढेको छ । हामीकहाँ ब्याजदर एकदमै बढेकाले सामानको मूल्य पनि बढेको छ तर सामानहरुको माग छैन । यसले गर्दा त्यो पीडा सडकमा उब्जिएको हो । अब विस्तारै ब्याजदर घट्छ किनभने कर्जाको अहिले माग नै छैन । जब कर्जाको माग नै हुँदैन कर्जाको माग नै नभएपछि ब्याजदर त घट्न थाल्छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वितीय संस्थालाई तिमीहरुको स्क्रियल रेट पनि झार्नुपर्छ । चैतमा ४.२ र असार सम्ममा ४ प्रतिशतमा झार्नै पर्छ भनेको छ । एकातिर स्केल घटाउने भनेको छ अर्कोतिर डिपोजिट रेट पनि विस्तारै घट्न थालेको छ त्यो कारणले गर्दा ब्याजदर तल आउँला । बैंक तथा वित्तीय संस्थाहरुप्रति हामीले धेरै आक्रमक रुपमा आलोचना गरेर मात्रै यो समस्या समाधान हुँदैन ।

यसले झनै बिगार्छ । बैंक तथा वित्तीय संस्थामा के आशंका आइदिन्छ भने यिनीहरुलाई कर्जा दियो भने कर्जा तिर्नुको ठाउँमा यस्तो आन्दोलन पो गरेर हिँड्दा रहेछन् भन्ने खालको शंका उत्पन्न हुन्छ । त्यसकारण व्यावसायीले ऋण नै तिरेन भन्ने दोहोरी अन्त्य हुनुपर्छ । बैँकले मिनाहा गर्ने हो भने बचतकर्तालाई पनि पैसा दिन सक्नुपर्यो नि त । त्यसरी गर्ने हो भने त बैकिङ क्षेत्र नै सकिन्छ । त्यसैले यो घातक कुरा हो यसलाई हामी कसैले समर्थन गर्नु हुँदैन । कानुनलाई हातमा लिने प्रयास लिनु हुन्न ।

समस्याको समाधान बसेर छलफल गरेर नै गर्ने हो आन्दोलन गरेर कसैलाई केही फाइदा हुनेवाला छैन । आन्दोलन विकल्प होइन । भोलि पेट्रोलियम पदार्थको भाउ बढ्ला रे, अब के हामीले आन्दोलन गर्ने त ? बजारमा ब्याजदर मात्रै त बढेको छैन, ब्याजदर लगायत विभिन्न कुराहरुको मूल्य बढिरहेको छ । हामी चाहिनेभन्दा बढी आक्रमक हुन हुन्न । बजारमा सामानको पनि मुल्य त बढेको छ । अनि ब्याजदर बढ्नमा कारण छ किनभने डेढ वर्ष अगाडि हाम्रो विदेशी मुद्राको सञ्चिति यति नराम्रोसँग घटेको थियो । हामी त अब श्रीलंका नै हुन लाग्यौं भन्ने व्यापक भइरहेको थियो ।

त्यस्तो अवस्थामा हामीले ब्याजदर बढाएर यहाँसम्म ल्याएको हो । श्रीलंका बन्नुभन्दा त अहिलेको स्थिति राम्रो हो नि । अहिले हाम्रो स्थिति के छ र अहिले त हामीले विदेशि मुद्राको सञ्चिति ठिकठाक छ । खुट्टा भयो भने जुत्ता कति कति भन्छन् नि । पैसा हाम्रो भाँडोमा छ भने हामीले जे पनि गर्न सक्छौं । अहिले हाम्रो चुनौती भनेको सरकारी वित्त नै हो । हामी पाकिस्तान र श्रीलंकाको जस्तो स्थितिमा छैनौं । म के भन्छु भने श्रीलंका र पाकिस्तानको जस्तो स्थिति हुनुभन्दा हाम्रो देशमा जे भैरहेको छ त्यो स्थिति धेरै धेरै राम्रो हो । हामीले आयातलाई बढ्न नरोकेर विदेशी मुद्रा सकिएको भए भोलि औषधि, तेल समेत किन्ने पनि पैसा नभएको बेला हामीलाई कसले सहयोग गथ्र्यो ? श्रीलंकालाई कसले सहयोग गर्यो ? पाकिस्तानलाई कसले सहयोग गरिरहेको छ ? कसैले पनि सहयोग गर्नेवाला छैन । सहयोग गरिहाले भने पनि आफ्नो स्वार्थ पुरा गर्न मात्रै हो ।

मैले अहिलेको अवस्थामा बैंकहरुको कमजोरी एउटा मात्रै के देख्छु, त्यो के हो भने ब्याजदर हामीले चाहिनेभन्दा बढी बढाइयो । ब्याजदर बढाउँदा पनि तपार्इँले अलि अलि गरेर ग्राहकलाई पनि तयारी गर्दै जानुपर्छ । भाउ बढाउँदा एकै चोटी डेढ प्रतिशत, २ प्रतिशत ब्याजदर बढायो भने त १०० किलोमिटरमा चलाएको गाडि एकैपटक रोक्दा के हुन्छ, हो त्यस्तो हुनसक्छ । यो किन भयो भने हाम्रो आयात बढ्यो, व्यापार घाटा विक्षिप्त बढ्यो । हाम्रो भुक्त्तानी सन्तुलन अत्यन्तै धेरै भयो । हाम्रो विदेशी मुद्राको सञ्चिति तल आयो । बैकहरुले त बचत लिने हो ।

मैले ऋण लिँदा मेरो साँवा ब्याज तिर्न सक्छ कि सक्दैन भनेर ऋण दिने हो । कुन क्षेत्रमा माग भइरहेको छ । त्यो क्षेत्रमा बैंकले ऋण दिने हो । गैरकानुनी काम गर्ने होइन । गैह्रकानुनी काम गर्छ भने राष्ट्र बैंकले कारर्वाही गरिरहेको छ र गर्छ पनि । फिटिक्कै केही हुने बितिकै राष्ट्र बैंकले छाड्दैन । यो चाहिँ दक्षिण एसियामा नै गर्व गर्ने खालको काम छ । दक्षिण एसियामा नेपालको बैकिङ क्षेत्र पारदर्शी पनि छ । कतिपय कुराहरुमा हामीले पनि सुधार गर्नुपर्ने ठाउँहरु होला । खास गरेर डिजिलाइजेसन र सुशासनका मामलामा र बैंक तथा वित्तीय संस्थाको जुन बलियोपना हुनुपर्छ, त्यसलाई बढाउनुपर्छ ।

नेपाल उद्योगा वाणिज्य महासंघका समयमा प्रायः बैंकमाथि राजनीति गरिन्छ । ठुला ठुला विजनेसम्यानहरु, जसको गर्भरनलसँग पनि पहुँच छ, अर्थमन्त्रीसँग पनि पहुँच छ, प्रधानमन्त्रीसँग पनि पहुँच छ, राष्ट्र बैंकसँग पहुँच छ, सिइओसँग पनि पहुँच छ, उहाँहरु नै सडकमा आएर आन्दोलन गर्दिनुहुन्छ । उहाँहरुका मजदुरहरु पनि सडकमा आएर आन्दोलन गर्दिनुभयो भने के हुन्छ ? यत्ति पनि उहाँहरुले सोच्न सक्दैनन् । उहाँहरुको त पहुँच छ नि । त्यतिका पहुँच भएको मान्छेले सडकमा आएर आन्दोलन गर्न सुहाउँछ त ? बैक तथा वित्तीय संसथाहरुले व्यापारीले मेरो ऋण तिरेन भनेर आन्दोलन गर्ने हो ? त्यसरी समस्याको समाधान हुन्छ ? व्यापारीहरुले यो सबै नचाहिने काम गरेका हुन् । खासगरेर त्यस्ता खालका व्यापारीहरु जसको जताततै पहुँच छ । तिनले नै यस्तो काम गरेका छन् ।

विचरा हाम्रा किसानहरु पनि सडकमा आएर तरकारी र बिउ पोख्छन् नि । केही नलागेर हो नि । उनीहरुको त केही पहँुच छैन । उनीहरुलाई बुझ्न सकिएला तर ठुलाबडा भनाउँदाहरु, जो अहिले एफएनसिसिआइको चुनावमा उठेका छन् । उहाँहरुको त सबैतिर पहँुच छ । उहाँहरुले आन्दोलन गर्न सुहाउँछ । त्यसो हो भने त भोलिदेखि बैंकका सिइओहरुले पनि यी व्यापारीहरुले ऋण फिर्ता गरेनन् भनेर आन्दोलन गर्ने ? यो समस्याको समाधान त होइन । यसले समस्यालाई बलियो बनाउँने मात्रै हो । यसलाई हामीले चर्काउने मात्रै हो यसलाई चर्काएर केही हुनेवाला छैन ।

व्यवसायीहरुलाई वित्तीय साक्षरता आवश्यक छ । कुन काम गर्ने, कुन काम नगर्ने, कुन काम गर्दा चल्छ, कुन काम गर्दा चल्दैन, कति महिना मैले घाटामा व्यापार गर्नुपर्ला र त्यसपछि मलाई नाफा होला भन्ने खालको सम्भाव्यता अध्ययन गर्ने प्रकारको साक्षरता आवश्यक छ । कुनै पनि काम गर्दा यति पैसा चाहिन्छ । यति पैसा मैले बैंकबाट लिन पाउँछु । बंैकले सजिलै दिन सक्छ भन्ने खालको अध्ययन साना व्यवसायीहरुमा छ । हाम्रा एसोसिएसनहरुले आफ्ना सदस्यहरुलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखेको छु ।

अहिलेलाई धैर्य लिनेबाहेक अरु कुनै विकल्प देख्दिन । बैंकहरुले विस्तारै ब्याजदर घटाउलान् । हरेक महिना सुस्त रुपमा भएपनि घटिरहेको छ । सबैभन्दा ठुलो कुरा धैर्य हो बरु यसमा सरकारले केही काम गर्न सक्छ । सरकारले साधारण खर्च घटाउने हो, राजस्व बढाउन हाम्रो नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अलिकति बढी खर्च गरेर १ रुपैयाँ खर्च गरेर ७ रुपैयाँ राजस्व आउँछ भने त्यतातिर खर्च गर्न लाग्नुपर्यो । विकास निर्माणमा बढी जोड दिनुपर्छ । हामी सिमेन्टमा आत्मनिर्भर छौं । त्यो सिमेन्ट उत्पादन गरेर खपत गर्न हामी के गर्न सक्छौं ? हामी गर्न सक्छौं, एक्सपोर्ट गर्न र कतिपय बाटोहरुमा सिमेन्ट र रड प्रयोग गरेर ढलान गर्न सक्छौँ ।

यसमा मलाई लाग्छ राष्ट्र बैंकले, सरकारले बढी फोकस गर्न सक्छ । ब्याजदर जति बढ्नु बढिसकेको छ, अब नबढ्ला । अब घट्ला । आउँदा दिनहरु त कसले देखेको छ र यो तेलको भाउ बढेर अझै ब्याजदर पनि बढ्न थाल्ने अमेरिका, युरोप, भारत सबैले बढाउन थाले भने त हाम्रो ब्याजदर घट्न रोकिएला होइन भने आजको दिनसम्म हेर्दा ब्याजदर घट्न थालिसकेको छ ।

राष्ट्र बैंकले गर्ने भनेको हाम्रो उत्पादनको क्षेत्रमा पैसा जान बैंकहरुले कर्जा त्यहाँ लगानी गर भन्नका लागि पर्याप्त तरलताको व्यवस्था राष्ट्र बैंकले गरिदिन आवश्यक छ । हाम्रो कृषि होस् अथवा हाम्रा अरु उत्पादनका जुन क्षेत्र छन्, त्यो उत्पादनको क्षेत्रमा हाम्रा ग्राहकहरुले वा हाम्रा जनताले कर्जा माग्न आउँदा बैंकहरुले मसँग पैसा छैन भनेर भन्न नपरोस् । यदि यस्तो स्थिति आयो भने राष्ट्र बैंकले त्यो तरलता दिनुपर्यो । राष्ट्र बैंकले गर्ने त्यो हो ।

जसरी हुन्छ अर्थतन्त्रको साइकल तोडिनु भएन । सरकारले समयमै छिटो भुक्त्तानी गरिदिनु पर्यो । खर्च पनि गर्नुपर्यो भुक्त्तानी पनि गरिदिनु पर्यो । त्यो गर्यो भने अर्थतन्त्रको साइकल चल्छ । साइकल रोकियो भने त साइकल पल्टिन्छ । साइकललाई त जति पाइडल लगाइन्छ, त्यति छिटो जान्छ । बजारका दृष्टिमा सबैभन्दा बढी ठुलो उपभोक्ता भनेको सरकार हो । सरकारले नै धेरै सामान किन्छ । चाहे त्यो सिमेन्ट, छड वा अरु सामान उसैले किन्छ । उसैले पैसा खर्च गर्छ । अनि मान्छेहरुको आम्दानी हुन्छ । मान्छेहरुको आम्दानी भएको आधारमा उसले पनि घर बनाउल । केही सामानहरु किन्ला । अर्थतन्त्र चलायमान होला ।

बैँकहरुको पारदर्शीतामा प्रश्न गर्नुको अर्थ छैन । बैंकमा आन्तरिक अडिट हुन्छ । जुन अडिटले बैंकको सिइओलाई रिपोर्ट गर्दैन । सिधै बोर्डलाई रिपोर्ट गर्छ । त्यसपछि साधारणसभाले अडिटर नियुक्ति गर्छ र राष्ट्र बैंकले अडिट गर्छ । राष्ट्र बैंकले बैंकमै आएर पनि अडिट गर्छ । कतिपय समयमा रिपोर्ट माग्छन् । हरेक दिन माग्ने रिपोर्ट छ । हरेक हप्ता माग्ने रिपोर्ट छ । हरेक महिना माग्ने रिपोर्ट छ । तिन महिनामा माग्ने रिपोर्ट छ । यो रिपोर्ट राष्ट्र बैंकमा हुन्छ ।

बैंकहरुले खराब कर्जा लुकाएर कसरी लुकाउन सक्छन् ? एउटा दुई वटा लुकाउलान् तर सबै फाइल लुकाउन सक्दैनन् । अडिटरहरुदेखि लिएर सबैको आँखा छलेर त्यो गर्न सक्दैनन् । त्यत्रो कम्प्युटर सिस्टम नै लुकाइदिने काम एकजना दुईजनाले गरेर त हुँदैन । त्यहाँ त सबैजना त सबैजना लाग्नुपर्छ । कर्मचारीले गाडि पनि छोडेर निस्किन पर्छ । अनि कारवाही भयो भने गम्भीर कारवाही हुन्छ । त्यसकारण कुनै कुनै बैंक तथा वित्तीय संस्थाहरुले कुनै कुनै कालखण्डमा असार महिनामा नभई अन्य समयमा लुकाए होलान् । तर असारमा त गाह्रो छ ।

असारमा राष्ट्र बैंकमा २.२ भन्ने रिपोर्ट जानुपर्छ । त्यसलाई राष्ट्र बैंकले एक एक हेरेर बल्ल पास गर्छ । म ४० वर्षदेखि बैंकिङ क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा काम गर्दै आएको छु । यसको आधारमा भन्दै छु, बैँकले कागज लुकाउन सक्दैनन् । अमेरिकाको सिलिकन भ्याली बैंकले पनि लुकाउन नसकेकै कारण विस्फोट भएको हो । त्यसकारण नेपाली बैकिङ क्षेत्र धेरै नै सुरक्षित छ । सुधार गर्ने ठाउँहरु जति पनि छन् तर पनि हामी डराउन पर्ने छ जस्तो चाहिँ मलाई लाग्दैन ।

हाम्रा बैंक तथान वित्तीय संस्थाहरुलाई विदेशी संस्थाहरुले अडिट गर्ने कुरा पनि आउने गर्छ । ऋण लिन जाँदा नै पनि हाम्रो बैंकको अडिट त विदेशको त्यो कम्पनीले गरेको भनेर भन्नु र नेपालको कुनै कम्पनीले गरेको भन्नुमा त फरक होला नि । त्यो विश्वसनीयता कसले गरेको हो त ? नेपालीले गर्दा बढी हुन्छ । विदेशीले अडिट गर्दा पुरै सुध्रिहाल्ने भन्ने मलाई लाग्दैन ।

सुझावहरु

पछिल्लो समय अर्थतन्त्रको सबैभन्दा ठुलो चुनौती भनेको सरकारी आम्दानी र खर्चको असन्तुलन हो । आम्दानी कम हुने र खर्च बढ्ने त्यसमा पनि साधारण खर्च बढ्ने तर विकास खर्च कम हुने समस्यालाई हामीले सच्याउनु पर्ने छ । जबसम्म हामीले आयात नियन्त्रण गर्न सक्दैनौं, हाम्रो निर्यातलाई आफूले नखाएर पनि आफ्नो जनतालाई महँगोमा बेचेर बाहिरका लाई सस्तोमा बेचेर भए पनि विदेशी मुद्राको सञ्चिती बढाउनुपर्छ । यो कुरा श्रीलंका र पाकिस्तानले हामीलाई बताइसकेको छ । हामीले व्यापार गर्न जान्दैनौं ।

हामीले अरु अरु देशसँग कुरा गर्दा हामीलाई दान देउ भनेर भन्नु भन्दा पनि हामी व्यापार गरौं न हामी तपाईँहरुलाई सामान बेच्छौं, तपाईँहरु आएर हाम्रो देशमा लगानी गर्नुस् भन्नुपर्छ । त्यसरी हामीले मार्केटिङ गर्न सक्छौं । भारतमा अहिले कति धेरै कुराहरु चीनबाट ल्याइन्छन् ? हामीले कति वैदेशिक लगानी आफ्नो देशमा आकर्षित गर्न सकेका छौँ ? हामीले लगानी निर्यात बढाएर विदेशी मुद्रको सञ्चिति बढाउनुपर्छ ।

हामी रेमिट्यान्समा धेरै भर पर्ने होइन । हाम्रो देशका युवाहरुलाई बाहिर पठाएर देश अरुको विकास हुन्न । हाम्रो देशको युवाहरुले आफ्नो देशमा बसेर काम गरे भने पो हाम्रो देशको विकास हुन्छ । रेमिट्यान्स बढेको बेला खुसी हुने हो कि दुःखी ? हाम्रो देशका युवाहरु विदेशिनेको संख्या बढ्यो भनेर भनेको हुन्छन् किन खुसी हुने ?

मार्च महिनामा करिब १ लाख मान्छे पर्यटकहरु भित्रिए । यो कुरामा खुसी हुने हो नि । यो भनेको ३८ महिनापछि सबैभन्दा धेरै पर्यटक आएको समय हो । २० लाख पर्यटक आएर एक जनाले एउटा मात्रै अण्डा खायो भने पनि २० लाख अण्डा चाहिने भयो । पर्यटक हाम्रो देशमा आएको राम्रो हो तर हाम्रो देशका युवाहरु काम गर्न विदेशिनु राम्रो होइन ।

(कुँवर बैंकिङ विज्ञ हुन् ।)

Premier Steel Banner