GBIME

पुरानै लयमा फर्कदै वैदेशिक रोजगार, १० महिनामा साढे ६ लाख रोजगारीका लागि विदेशीय

1.04K
shares

काठमाडौं, ७ जेठ । कारोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या भन्दा फर्किनेको संख्या बढेको थियो । कारोनाको प्रभाव कम हुँदै जादा पनि स्वास्थ्यका विभिन्न मापदण्डका कारण विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्यामा कमी आइरहेको थियो । तर पछिल्लो सयम भने अवस्था फेरिएको छ । अहिले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ ।

चालू आर्थिक वर्षको वैशाख महिनासम्म नेपालबाट साढे ६ लाखभन्दा धेरै नेपाली रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख महिनामा मात्रै नेपालबाट ५४ हजार ४५७ जना युवाले विदेश गएका छन् । यो सहित चालू आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालबाट ६ लाख ६० हजार २५५ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार वैशाखसम्म ४ लाख २१ हजार २७९ जना पहिलो पटक श्रम स्वीकृति लिएर विदेश गएका छन् । यो संख्या संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर जानेहरुको हो । त्यस्तै १० महिनाको अवधिमा २ लाख ४४ हजार ९९६ जनाले पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् ।

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कुनै महिना ७० हजारभन्दा माथि पुगेको थियो । चालू आर्थिक वर्ष सकिनका लागि २ महिना बाँकी रहेको अवस्थामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या नयाँ किर्तिमान नजिक पुग्ने अनुमान गरिएको छ ।

वैशाख महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चैत महिनाको भन्दा केही कम हो । चैत महिनामा नेपालबाट ६१ हजार ४७८ जना युवा विदेश गएका थिए । विभागको तथ्यांकअनुसार वैशाख महिनामा रोजगरीका लागि सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । एक महिनाको अवधिमा नेपालबाट १४ हजार ६३७ जनाले मलेसिया जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै यो अवधिमा कतारका लागि १० हजार २३० जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै युएई जानका लागि ९ हजार ४८३ जना, साउदी अरबमा ८ हजार ६८१ जना र कुवेतमा रोजगारीका लागि २ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै रोमानियामा १ हजार ६०६, जापानमा ८१७, बहराइनमा ५०५, पोल्याण्डमा ६३५, साइप्रसमा ४६० र ओमान जानका लागि ३५० जनाले श्रम स्वीकृति लिएका छन् ।

Premier Steel Banner