GBIME

अहिलेको अवस्थाबाट पार पाउनका लागि उत्पादनमा जोड दिनु पर्छ : केन्द्रीय सदस्य पाण्डे (भिडियो सहित)

1.57K
shares

काठमाडौं, ८ जेठ । नेपाल उद्योग वाणिज्य महसंघका केन्द्रीय सदस्य पशुपति देव पाण्डेले स्वदेशी उत्पादनमा ध्यान नदिएसम्म आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । केटिएम भ्वाइसँगको कुराकानीमा तयारी पोशाक उद्योग संघका समेत अध्यक्ष रहेका पाण्डेले आर्थिक रुपमा आत्मनिर्भर बन्नका लागि उत्पादनमा जोड दिनु पर्ने बताएका हुन् ।

‘जबरजस्ती आयातमा प्रतिबन्ध लगाउने भन्दा पनि उत्पादन बढाएर निर्यात बढाउने तर्फ लाग्नु पर्छ,’ उनले भने । अहिलेको अवस्थामा एकले अर्कालाई आरोप लगाउने भन्दा पनि कसरी हुन्छ सज वातावरण निर्माण गर्ने तर्फ लाग्नु पर्ने उनको भनाइ थियो । ‘म यो अवस्थामा कुनै एक पक्षलाई दोष दिने पक्षमा छैन । हामी सबै आ–आफ्नो क्षेत्रमा जिम्मेवार छौँ,’ उनले भने ।

सबै व्यवसायीलाई एउटै बास्केटमा राखेरे हेर्ने राज्यको नीतिमा नै परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो । कृषि उत्पादन र आयातमुखी व्यवसायका लागि गरिने व्यवहार फरक हुनु पर्ने उनले बताए । अहिले जटिल अवस्था रहेको भन्दै समस्याका विचमा नै समाधान हुने भएकाले त्यस तर्फ लाग्नु पर्ने उनको भनाइ थियो ।

खुला सिमाका कारण पनि समस्या भएकाले यस तर्फ पनि राज्यले ध्यान दिनु पर्ने उनले बताए । खुला सिमानाका कारण गैर कानुनी रुपमा आउने सामानहरुसँग नेपाली अन्य सामानले प्रतिपस्र्धा गर्न नसक्ने उनको भनाइ थियो ।