खाम्तेल विकास मञ्चले दियो मन्त्री कार्कीलाई बधाई
वि.सं.२०८० भदौ ३१ आइतवार १५:१५
shares
काठमाडौं, ३१ भदौ । सामाजिक संस्था खाम्तेल विकास मञ्चले कोशी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्कीलाई बधाई दिएको छ । खाम्तेलको माटोले मन्त्री पाउनु सम्पूर्ण खाम्तेलवासीको गौरवको कुरा भएको भन्दै मञ्चले मन्त्री कार्कीको सफल कार्यकालको शुभकामनाका साथ बधाई दिएको हो ।
कोशी प्रदेशक मन्त्री कार्की अस्वस्थ्य भई केही दिनयता वीर अस्पतालमा उपचाररत थिए । वीर अस्पताल नै पुगेर मञ्चका अध्यक्ष एवम् प्राज्ञ सभा सदस्य डा भागवत आचार्य नेतृत्वको टोलीले मन्त्री कार्कीको पूर्ण स्वास्थ्य लाभको शुभकामनासहित बधाई दिएको थियो ।
मन्त्री कार्कीको पुर्ख्यौली तथा जन्मथलो खोटाङ जिल्लाको हलेसीतुवाचुङ नगरपालिका वडा नं ११, राजापानी, खाम्तेल हो । पछि बसाइँसराइ पश्चात् सपरिवार झापा जिल्लाको गरामनी गएका हुन् । ‘उनलाई हामीले मन्त्रीको रुपमा देख्न पायौँ अब सफल मन्त्रीका रूपमा इतिहासमा नामाङ्कित भएको देख्न चाहन्छौँ, सफल हुनका लागि भएकै नीतिको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो मञ्चका अध्यक्ष आचार्यले भने, ‘हामीले विशेष कार्यक्रम गरेर बधाई दिने योजना बनाएका थियौं, तर अस्वस्थ हुनु भएको खबर पाएपछि हामीले स्वास्थ्य लाभको कामना र कार्यकाल सफलताको शुभकामना दिएका हौँ ।’
मन्त्री कार्कीलाई शुभकामना दिन अध्यक्ष आचार्य, कार्यसमिति सदस्य अधिवक्ता उद्धव कार्की लगायत वीर अस्पताल पुगेका थिए । डेंगु रोगको उपचारका लागि भर्ना भएका मन्त्री कार्की आज आइतबार नै डिस्चार्ज भएर विराटनगर जादैछन् ।