आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
वि.सं.२०७९ जेठ १९ बिहीवार १८:४६
shares
काठमाडौं, १९ जेठ । देशको अर्थतन्त्र निर्माणका लागि बजेटको प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ । आर्थिक बर्ष २०७९/०८० को लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयहरुमा केन्द्रित भएर नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयको सहकार्यमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन ।
संसदको दुवै सदनमा समेत व्यापक छलफल चलिरहेको सन्दर्भमा बजेटले समावेश गरेका नीति, योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको विषयलाई लिएर आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अर्थशास्त्री तथा नेपाल आर्थिक संघका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुर्यालले बजेट समग्र रुपमा सकारात्मक भए तापनि राजश्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फिति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताएका छन् । ‘ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ, तर विश्व बैंकको प्रतिवेदनहरू अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु,’ उनले भने । यो भन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकोले विशेष ध्यान दिनु पर्ने उनको भनाई थियो ।
अर्थविद डा.पोषराज पाण्डेले तथ्यांक केलाउँदा बजेटले पोलिसी डिरेक्सन र आशा मात्रै जगाउने खालको देखिएको भएतापनि सकारात्मक सोच र सफा नियतका साथ बजेट आएको बताएका छन् । त्यस्तै वरिष्ठ अर्थविद् प्रा.डा. गोविन्द्र नेपालले बजेट समावेशी र रुपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजनाहरुको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको औल्याउदै गृहिणीदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुसम्मलाई समेत खुशी तुल्याउने गरी बजेट आएको बताए ।
सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भइ सकारात्मक सोचका साथ बजेट आएको तर तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको बताएका छन् । कतिपय कर छुटका व्यवस्थाहरुले निर्यात प्रबद्र्धन भन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शंका उत्पन्न गराएको उनले बताए ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भएतापनि विगत ४–५ बर्षका बजेटहरुको श्रृखंला अध्ययन गर्दै तथ्यांकका हिसावबाट बजेट सिमाभित्रै रहने गरी ल्याइएको जानकारी दिए । उनले भने– ‘बजेट राजनैतिक–आर्थिक दस्तावेज पनि भएकोले केही महत्वकांक्षा यसले पनि बोकेको छ, तर प्राकृतिक स्रोतहरुले भरिपूर्ण र अपार संभावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयहरुको कार्यान्वयनमा हामी प्रतिबद्ध भएर लाग्यौ भने हाम्रो सपना सार्थक हुनेछ ।’ त्यसैगरी अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आम जनता र सरोकारवाला सवै क्षेत्रको अपेक्षा र आवश्यकताहरु समेट्दै सबैलाई अपनत्व महशुस हुने गरी बजेट आएको बताए ।