पुँजीगततर्फ ७३ प्रतिशत खर्च

वि.सं.२०८१ असार २६ बुधवार १२:५०
shares

काठमाडौं, २६ असार । सङ्घीय सरकारले चितवनका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये ४ अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो ।
सङ्घबाट पुँजीगत खर्चका लागि ५ अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।
चालु खर्चका लागि विनियोजित रकम १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार तीन सय १३ मध्ये ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको शर्माले बताए । उनका अनुसार जिल्लामा सङ्घीय सरकारबाट प्राप्त १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ मध्ये १६ अर्ब २४ करोड छ लाख १३ हजार छ सय ५४ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५ दशमलव ९९ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।
प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३ दशमलव ६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ७५ दशमलव ८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ १ अर्ब ६१ करोड ९४ लाख ३० हजार चार सय ८७ विनियोजन गरेको थियो ।
पुँजीगततर्फ ३ अर्ब ३६ करोड १९ लाख २८ हजार विनियोजन भएकामा २ अर्ब ४५ करोड ९२ लाख ३१ हजार सात सय १० खर्च भएको शर्माले जानकारी दिए । जिल्लामा प्रदेशबाट ४ अर्ब ९८ करोड १३ लाख ५८ हजार चार सय ८७ विनियोजित भएकामा ३ अर्ब ८१ करोड ८१ लाख ६९ हजार छ सय २५ खर्च भएको छ । जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पुँजीगततर्फको खर्च बढेको उनले जानकारी दिए ।