झापाका पाँच पालिकाका प्रमुखमा महिलाको उम्मेद्वारी

वि.सं.२०७९ वैशाख २१ बुधवार १४:००
shares

झापा, २१ वैशाख । दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली काङ्ग्रेसले झापाका पाँचवटा पालिकामा महिलाको नेतृत्वमा उम्मेदवार उठाएका छन्। स्थानीय राजनीतिमा प्रभाव राख्न सक्ने महिलालाई दुई ठूला दलले नेतृत्वमा अवसर दिँदै चुनावी मैदानमा उतारेका हुन्।
नेकपा एमालेले तीनवटा र काङ्ग्रेसले दुई वटा पालिकामा महिलाको नेतृत्वमा चुनावी तयारी गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। झापाको राजनीतिका दुई महत्वपूर्ण केन्द्र बिर्तामोड र दमकमा नेकपा एमालेले दुईजना प्रभावशाली महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएको छ।
इलामसँग साँधसीमा जोडिएको झापाको बुद्धशान्ति गाउँपालिकामा पनि महिलाको नेतृत्वमा नेकपा एमाले चुनावी अभियानमा होमिएको छ। जिल्लादेखि केन्द्रसम्म राजनीतिक चहलपहल र सक्रियताका हिसाबले झापाको दमक र बिर्तामोड महत्वपूर्ण केन्द्र मानिन्छन्।
सानादेखि ठूला राजनीतिक दलका जिल्ला कार्यालय बिर्तामोडमा केन्द्रित छन्। राजनीतिक दलको मिटिङ, बैठक र सभासम्मेलन बिर्तामोडमा हुँदै आएका छन्। राजनीतिक तथा व्यवसायिक चहलपहल र सक्रियताका हिसाबले पनि झापाको बिर्तामोड प्रमुख केन्द्र मानिन्छ। यही केन्द्रको नेतृत्वका लागि नेकपा एमालेले महिला नेतृ पवित्रा महतरा प्रसाईंलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ।
पति वियोगको पीडामा पनि जनसेवाका काममा आफूलाई अविच्छिन्न सक्रिय गराएकी प्रसाई दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्न तयार भएकी हुन्। नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष रहेका प्रसाईका श्रीमान् ज्ञानुरामको गत असार २५ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो।
लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय हुँदै संगठन विस्तारको काममा खटिएकी प्रसाई यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिकामा उपप्रमुखका रूपमा निर्वाचित भएकी थिइन्। आफ्नो पाँचवर्षे कार्यकाल विवादरहित ढंगले बिताएकी प्रसाईले न्यायिक समितिमार्फत् पनि झापामा उत्कृष्ट काम गरिन्। नगर प्रमुखका अन्य तीन पुरुष आकांक्षीलाई छोडेर एमालेले प्रसाईंलाई टिकट दिएको हो।
।प्रसाईसँग गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार भोजराज सिटौला प्रतिस्पर्धा गर्दैछन्। सिटौला यसअघि वडाध्यक्ष थिए।
झापाली राजनीतिको अर्को केन्द्र भनेको दमक हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि दमकले जिल्लाको राजनीतिमा महत्वपूर्ण स्थान राख्छ। अध्यक्ष ओलीको आगमनले मात्रै होइन, विकासमा फड्को मार्दै गरेको नवीनतम् शहरका रूपमा दमकले आफ्नो परिचय फराकिलो बनाउँदै गएको छ। नगरको नेतृत्व गर्न नेकपा एमालेले गीता अधिकारीलाई नगर प्रमुखको उमेद्वार बनाएको छ।
प्राध्यापन पृष्ठभूमिबाट एकाएक राजीनामा गरेर २०७४ को स्थानीय तह निर्वाचनमा उपप्रमुखमा अत्याधिक मतले निर्वाचित भएकी अधिकारी यसपटक मेयरको सशक्त दावेदारका रुपमा चुनावी मैदानमा ओर्लिएकी छन्। काङ्ग्रेस नेतृत्वको गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत साथमा लिएर अधिकारीविरुद्ध निर्वाचनको तयारी गरेको छ। दमकका पूर्व मेयर राप्रपा नेता राम थापासँग अधिकारी चुनावी मैदानमा उत्रिएकी छन् ।
एमालेले झापाको बुद्धशान्ति गाउँपालिकामा महिला नेतृ मीरा भूर्तेललाई उम्मेदवार बनाएको छ। यसअघि भूर्तेल गाउँपालिकामा उपाध्यक्ष थिइन्। काङ्ग्रेस सहितको गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने उमेद्वारका रुपमा एमालेले भूर्तेललाई अगाडि सारेको हो। उनी काङ्ग्रेसका मनोज प्रसाईसँग प्रतिस्पर्धा गर्दैछिन्। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इञ्चार्ज अग्नि खरेल जिल्लाको राजनीतिमा पुरुष प्रतिस्पर्धीसँग लड्ने राजनीतिक सामर्थ्य राखेर पार्टीले तीन जना महिलालाई पालिकाको नेतृत्वमा अवसर दिएको बताउँछन्।
पाँच दलीय गठबन्धनका नाममा एमालेविरुद्ध मोर्चाबन्दी गरेको काङ्ग्रेसले झापाको अर्जुनधारा नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा महिलालाई उमेद्वार बनाएको जिल्ला सचिव कृष्ण हुमागाईले बताए। अर्जुनधारामा काङ्ग्रेसका तर्फबाट रञ्जिता कार्की नगर प्रमुखका रुपमा चुनावी मैदानमा छिन्। कानून व्यवसायीको पृष्ठभूमिबाट स्थानीय राजनीतिमा सक्रियता बढाएकी कार्कीसँग एमालेका युवा नेता बलदेव गोम्देन प्रतिस्पर्धा गर्दैछन्। वडाध्यक्षमा पाँचवर्षे कार्यकाल बिताएका गोम्देन नगरको नेतृत्वका लागि पार्टीको पहिलो रोजाईमा परेका हुन्। स्थानीय क्षेत्रमा गोम्देन लोकप्रिय छन्।
झापाको गौरीगञ्ज गाउँपालिकामा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको काङ्ग्रेसले फूलवती राजवंशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। आदिवासी बाहुल्य क्षेत्रमा काङ्ग्रेस दोस्रोपटक राजवंशीको नेतृत्वमा एक्लै चुनाव लड्न तयार भएको हो। २०७४ को स्थानीय तह निर्वाचनमा पनि राजवंशी उठेकी थिइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराजा श्रेष्ठसँग हारेकी राजवंशीसँग यसपटक एमालेका तर्फबाट पुराना नेता बिजय अग्रवाल चुनावी मैदानमा छन्। राप्रपाका तर्फबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ आफैँ चुनावी मैदानमा खडा भएका छन्। नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उठेका मेनुका राजवंशी र जसपाबाट उठेका घनश्याम रिजाल पनि उनका प्रतिस्पर्धी हुन्।