स्थानीय निर्वाचन : दैलेखमा छिटपुट घटना बाहेक शान्तिपूर्ण
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १७:५०
shares
काठमाडौं, ३० वैशाख । आज सम्पन्न भएको स्थानीय तहको निर्वाचन दैलेख जिल्लामा छिटपुट बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका ११ वटै पालिकामा रहेका १३६ वटा मतदान स्थलका २०८ वटै मतदान कन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।
जिल्लाको आठविस नगरपालिका वडा नम्बर ६ र ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ मा केही असहज स्थति भए पनि अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमखु मनमाया काउचाले बताइन् । उनका अनुसार सबै स्थानीय तहमा मतदान सकिएको र अहिले विवरण संकलन तथा मतपेटिका ढुवानीको तयारी भइरहेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानको कार्य साँझ ५ बजे सकिएको उनले जानकारी दिइन् ।
जिल्लामा कुल मतदाता १ लाख ५८ हजार ४८९ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी मतदाता रहेको स्थानीय तह दुल्लू नगरपालिका हो । जहाँ २५ हजार ५२८ जना मतदाता रहेका छन् ।सबैभन्दा कम ठाटीकाँध गाउँपालिकामा १० हजार ३७५ जना मतदाता रहेका छन् ।
ठाटीकाँध र आठविसको तनाव भएको स्थानमा पनि निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर कुमार साहले जानकारी दिए । आठविस नगरपालिकामा एक राउण्ड हवाई फायर गर्नु परेको र अन्य स्थानमा शान्तिपूर्ण रुपमा निर्वाचनको कार्य सकिएको उनले बताए ।