चेंखेलीमा पुनः मतदान सुरु
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १८:३४
shares
काठमाडौं, ३० वैशाख । विहान झडप भए पछि रोकिएको हुम्लाको चेङ्खेली गाउँपालिका वडा नम्बर दुईको एक मदतान केन्द्रमा केही बेर अघिबाट पुनः मतदान सुरु भएको छ । त्यहाँको महावेव मावि मतदान केन्द्रमा रोकिएको मतदान अहिले जारी रहेको हो ।
विहान दुई पक्षबीच झडप हुँदा त्यहाँको अवस्था दिनभर जस्तो तनावग्रस्त बनेको थियो । अहिले मतदानका लागि मतदाताहरु लाइनमा रहेको र मतदान कार्य जारी रहेको जिल्ला निर्वाचन कार्याल हुम्लाका प्रमुख मुक्तिनाथ रावलले बताएका छन् । मतदानको कार्य कतिबेला सकिन्छ भन्ने अहिले नै भन्न नसकिने उनले बताए ।
सो मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको थियो । झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगि घाइते भएको बताइएको छ । कार्यालय सहयोगिलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको उनले बताए ।
यो बाहेक जिल्लाका अन्य स्थानिय तहमा निर्वाध रुपमा मतदान कार्य सम्पन्न भएको उनको भनाई छ । जिल्लामा ३४ हजार ५८१ जना मतदाता रहेको र ५४ वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए । हुम्ला जिल्लामा चार वटा स्थानीय तह रहेका छन् ।