मनाङमा कांग्रेस र एमाले दुई-दुई पालिकामा विजयी

4.51K
shares

काठमाडौं, ३१ वैशाख । हिमाली जिल्ला मनाङका सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लामा रहेका चार वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो । सार्वजनिक गरिएको मतपरिणाम अनुसार दुई पालिकामा नेपाली कांग्रेस र दुई पालीकामा नेकपा एमाले विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका मनाङका अनुसार कांग्रेसले जिल्लाको नार्पा भूमि गाउँपालिका र नासों गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । नार्पा मूमि गाउँपालिकाको अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको अध्यक्षमा धनबहादुर गुरुङले ८२० मतले निर्वाचित भएका छन् ।

यता एमालेबाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका छन् भने मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घले विजयी भएका छन् । चोमाको अध्यक्षमा घलेले ३३० मत ल्याएर विजयी भएका छन् । मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् ।

चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक–एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भए ।

यस्तै मनाङ ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।