यि हुन माओवादीले जितेका ११ पालिकाहरु (सूचीसहित)
वि.सं.२०७९ जेठ १ आइतवार २१:१९
shares
काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले ११ वटा पालीकामा जित हासिल गरेको छ ।
१.जगदुल्ला
नेकपा माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकामा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ।
अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन्।
२.नौमुले
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ। छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकाल्दा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन्।
३.अपिहिमाल
दार्चुलाको अपिहिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पराजित गर्दै विजयी भएका हुन्।
४.बाग्लुङको ताराखोला
बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी भएको छ। तारा खोलामा माओवादीका धन बहादुर वि.क विजयी भएका हुन्। उपाध्यक्षमा नेपाली कांग्रेसका भीम बहादुर रोक विजयी भएका छन्।
५. लिम्चुङबुङ
उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादीका मेजरकुमार राई पालिका अध्यक्षमा निर्वाचित भएका हुन्। पालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका पुष्पलाल राई विजयी भएका छन्।
६. जन्ते ढुंगा
खोटाङको जन्ते ढुंगा गाउँपालिका प्रमुखमा माओवादीकी अरुणा देवी राईले निवर्तमान अध्यक्ष समेत रहेका एमालेका शंखरबहादुर राईलाई पराजित गरेका छन्। गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का निर्वाचित भए।
७. रोल्पाको थवाङ
रोल्पाको थवाङमा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्।
८. दार्चुलाको नौगाड
दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धामीले ३ हजार ५८९ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्नाले ३ हजार ७६७ मत ल्याइ विजयी भएका छन्।
९.हुम्लाको ताजाकोट
हुम्लाको ताजाकोट गाउँपालिका माओवादीबाट अध्यक्षका उम्मेदवार लालकेस जैसीले १८ सय १० मत ल्याएर विजयी भएका छन्।
१०.गोरखाको अजिरकोट
गोरखाको अजिरकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। सार्वजनिक मतपरिणाम अनुसार माओवादीका अध्यक्ष उम्मेदवार दीपक देवकोटा विजयी भएका हुन्। कांग्रेसका गोविन्दबहादुर गुरुङलाई पराजित गर्दै देवकोटा विजयी भए। अजिरकोट गाउँपालिका १, २ र ३ वडामा माओवादी विजयी भएको छ। ४ नम्बर वडामा कांग्रेस विजयी भएको छ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अनिता भुजेल विजयी भएकी छन्। उनले पनि कांग्रेसकै इन्द्र गुरुङलाई हराएकी हुन्।
११. थुलुङ दुधकोशी
नेकपा माओवादी केन्द्रले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ। माओवादीबाट पालिका अध्यक्षका उम्मेदवार असिम राई विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका वीरबहादुर गुरुङलाई पराजित गरे।
यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई निर्वाचित भइन्। उनले कांग्रेसकै एककुमारी बस्नेत कार्कीलाई पराजित गरेकी छन्। सो पालिकाको ७ र ९ वडामा माओवादी विजयी भएको छ।