उप–महानगरपालिकामा गठबन्धन अगाडि, एमाले स्वतन्त्रको बराबार
वि.सं.२०७९ जेठ २ सोमवार १५:०६
shares
काठमाडौं, २ जेठ । शुक्रबार सम्मपन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । देशभरबाट प्राप्त मत परिणाम अनुसार सत्तारुढ दल नेपाली कांग्रेस अगाडि देखिएको छ । २०७४ सालमा भएको चुनावमा पहिलो दल बनेको एमालेले उसलाई पछ्याई रहेको छ ।
यस्तो अवस्थामा देशका ११ वटा उपमहानगरमध्ये अहिले दाङको तुलसीपुरको वडा नम्बर १७ मा जेठ ३ गते पुनः चुनाव हुने भए पछि त्यहाँको मत गणना सुरु गरिएको छैन् । त्यो बाहेक १० वटा उप महानगरपालिकामा मतगणाना कार्य जारी रहेको छ । तुलसीपुरको वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले चुनाव सरेको थियो ।
मतगणना भइरहेको उप–महानगरपालिकाहमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले ६ वटामा अग्रता लिइरहेका छन् । त्यस्तै दुईव वटामा प्रमुख प्रतिपक्षी दल एमाले र दुई वटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिलेसम्म धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै बाराको कलैया र दाङको घोराहीमा एमाले अगाडि रहेको छ भने बाँकीमा ६ वटामा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेलले अग्रता लिइरहेका छन् । उनले ४ हजार १६८ मतका साथ अग्रता लिइरहेका छन् । पौडेललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले ३ हजार १५३ मत ल्याएका छन् । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ३ हजार ४८९ मतसहित अगाडि छिन् । उनलाई एकीकृत समाजवादीका केशवकुमार विष्ट २,५९७ मतसहित पछ्याइरहेका छन् । यो उप– महागरपालिकामा अघिल्लो चुनावमा एमाले विजयी भएको थियो ।
प्रदेश नम्बर एकको अर्को उपमहानगरपालिकाका हो धरान उपमहानगरपालिका । यहाँ पनि अहिलेसम्मको मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदावरले अग्रता लिइरहेका छन् । त्यहाँ मेयरमा नेपाली कांग्रेस उम्मेदवार किशोर राई ३ हजार ५४५ मतका साथ अग्रस्थानमा छन् । राईलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार हर्कराज राईले २ हजार ६७९ मत ल्याएका छन् । उमपेयरमा माओवादीका अइन्द्रविक्रम बेघाले ३ हजार ८३० मतसहित अग्रात लिइरहेका छन् । उनलाई एमालेका पदमप्रसाद लिम्बुले ३ हजार २३७ मतसहित पछ्याइरहेका छन् ।
यता मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा भने स्वतन्त्र उम्मेदावरले अग्रता लिइरहेका छन् । स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी २ हजार ४७७ मतका साथ अग्रता लिइरहेका हुन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले १ हाजर ७७ मत पाएका छन् । उपमेयरमा कांग्रसका किशोरी साह २ हजार ३५५ मतसहित अग्रस्थानमा छन् भने उनलाई एमालेकी रुणादेवी झाले १ हजार १६४ मतसहित पछ्याइरहेकी छिन् ।
बाराको कलैया उपमहानगरपालिकाको मेयरमा भने नेकपा एमालेकका उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यहाँ एमालेका विनोदप्रसाद साह ३ हजार ७६१ मतसहित अगाडि देखिएका छन् । उनलाई कांग्रेसका राजेश राय यादवले २ हजार १८७ मतसहित पछ्याइरहेका छन् । त्यस्तै उपमेयरमा भने जसपाका प्रमोदप्रसाद गुप्ता २ हजार ४६२ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई एमालेका रौशन परविन २ हाजर ६० मतसहित पछ्याइरहेकी छिन् ।
यता सिमरा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवारले अग्रता लिइरहेका छन् । सोपार्टीका उम्मेदवार राजन पौडेल ८ हजार १७६ मतका साथ अग्रस्थानमा छन् । पौडेललाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सरस्वतीदेवी चौधरीले ५ हजार ८६१ मत ल्याएकी छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी मेघा शाही ७ हजार ९४ मतसहित अगाडि रहँदा एमालेका भोलाप्रसाद अधिकारीले ६ हजार २२७ मतसहित पछ्याइरहेका छन् ।
यता बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदावर बनेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिइरहेकी छिन् । लामाले ४ हजार ४५ मतका साथ अग्रता लिइरहेकी हुन् । उनलाई राप्रपाका दीपकबहादुर सिंहले ३ हजार ९०० मतसहित पछ्याएका छन् । हेटौंडामा एमालेका अनन्तप्रसाद पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले ३ हजार ४७२ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका राजेश बानिया ४ हजार ४२१ मतसहित पहिलो स्थानमा छन् भने एमालेकी सुमित्रा काफ्ले ३ हजार २९५ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
लुम्बिनि प्रदेशको प्रमुख सहर बुटवलमा रहेको बटवल उपमहानगरपालिकामा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । बुटवलमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय ५ हजार ५५५ मतका साथ अग्रस्थानमा छन् । पाण्डेयलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बाबुराम भट्टराईले ३ हजार ७४१ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल २ हजार १३१ मतसहित अग्रता लिइरहँदा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १ हजार ७६६ मतसहित पछ्याइरहेका छन् ।
दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरी १० हजार २६० मतसहित अग्रस्थानमा रहेका छन् । सुरुमा माओवादीका हेमराज शर्मा पोख्रेल अगाडि रहे पनि आइतबार साँझदेखि चौधरीले अग्रता दिएका हुन् । पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका पोख्रेल ९ हजार २६६ मतसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री ८ हजार २६२ मतसहित अगाडि छन् भने एमालेकी हुमाकुमारी डीसी ७ हजार ८५३ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
नेपालगंज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट ५ हजार ३२६ मतका साथ अग्रस्थानमा छन् । विष्टलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपति दयाल मिश्राले २ हजार १८९ मत ल्याएका छन् । नेपालगन्जको उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई ४ हजार २० मतसहित अगाडि छन् भने विन्दु चर्ती मगरले २ हजार ५४२ मतसहित पछ्याएकी छिन् । यो उपमहानगरपालिकामा २०७४ को चुनावमा राप्रपाले जित हासिल गरेको थियो ।
सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको मेयरमा भने स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमाल ३ हजार ८२९ मतका साथ अग्रस्थानमा छन् । हमाललाई पछ्याइरहेका गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले २ हजार ८५ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी १ हजार ६२३ मतसहित अगाडि छिन् भने एमालेकी कन्दकलाकुमारी राना १ हजार ३५३ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।