Nepal Life Banner

भोलिदेखि बजेट अधिवेशन, एमालेले विरोध जारी राख्ने

4.29K
shares

काठमाडौं, २ जेठ । संसदको बजेट अधिवेशन भोली (मंगलबार) देखि सुरु हुँदैछ । मंगलबार देखि सुरु हुने बजेट अधिवेशनमा सबैको ध्यान प्रमुख प्रतिपक्षी एमाले तर्फ हुने छ । किनकी उसले लामो समय देखि संसद अवरुद्ध गर्दै आएको छ र बजेट अधिवेशनमा एमाले कसरी प्रस्तुत हुन्छ भन्ने विषय सबैको चासोको विषय बनेको हो ।

संघीय संसदको बजेट अधिवेशन मंगलबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले पहिलेदेखि नै संसद् बैठकमा नाराबाजी गर्दै आइरहेको अवस्थामा बजेट अधिबेशन कसरी अघि बढ्छ भन्ने विषय सबैको चासोको विषय हो । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा वा आफूले कार्वाहि गरेका माधव नेपाल लगायत सांसदहरुलाई कार्वाही गरिएको विषयमा सूचना टाँस गर्नु पर्ने माग गर्दै आएको छ ।

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सबै दललाई बजेट अधिवेशन बजेटमा नै केन्द्रित हुने भन्दै सबैदललाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्ने वातावरण बनाउन अपिल गरेका हुन् ।

संविधान अुनसार जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनु पर्ने हुन्छ । यो अवधिमा सबै राजनीति दलहरुबीच समझदारी हुने विश्वास सभामुख सापकोटाको छ । सो अवसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने पनि बताएका छन् । यो विषय पनि सरकारसँग छफल गरेर अगाडि बढ्न् उनले बताए ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले भने संसदमा पूर्ववत अवस्थामा नै प्रस्तुत हुने जनाएको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माग पुरा नभएसम्म विरोध जारी रहेने बताएका हुन् । ‘सत्ता पक्षले एमालेको माग सम्बोधन नगर्दासम्म हाम्रो विरोध जारी रहन्छ,’ भट्टराईले भने । सरकारले माग सम्बोधन नगर्दासम्म गतिरोध अन्त्य हुने सम्भावना नरहेको उनले बताए । अहिलेसम्म सरकारले छफलका लागि नबोलाएकाले पूर्ववत रुपमा नै एमाले संसदमा प्रवेश गर्छ उनले भने ।