ओखलढुंगाको चिसंखुगढीमा मतपत्र च्यातियो

2.47K
shares

काठमाडौं, २ जेठ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका छन् । वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि मतपत्र च्यातेको सुरक्षा स्रोतले जनाएको छ ।

मतपत्र च्यात्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली ओखलढुंगाबजारबाट चिसंखुतर्फ लागेको छ ।

विवाद भएको सूचना आएपछि थप टोली पठाइसकेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले जानकारी दिए । चिशंखुको वडा नं ३ मा माओवादी र कांग्रेसका वडाध्यक्षको मत बराबरी भएपछि पुनः गणना गर्न थालिएको थियो। तर पुनः गणना गर्ने क्रममा कांग्रेसका प्रतिनिधिले मतपत्र तानेका हुन् ।

यो पालिकामा पनि कांग्रेस माओवादीबीच गठबन्धन छ । पालिका प्रमुखमा माओवादीका निशान्त शर्मा बास्तोला र उपप्रमुखमा कांग्रेसका सन्तोषबाबु थापा विजयी भएका छन् । पालिकामा गठबन्धन गरे पनि वडामा भने कांग्रेस र माओवादी एक्लाएक्लै भिडेका थिए । वडा नं ३ को अध्यक्षमा कांग्रेसबाट मिनबहादुर आले मगर र माओवादीबाट भिष्म श्रेष्ठ उम्मेदवार छन् ।