६ महानगरपालिकाको अपडेटः एमाले सबैमा पछि
वि.सं.२०७९ जेठ ३ मंगलवार ०८:११
shares
काठमाडौं, ३ जेठ । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता लिएको छ । सार्वजनिक गरिएको पछिल्लो मतपरिणामअनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै पनि महानगरपालिकामा अग्रता लिन सकेको छैन । सोमबारसम्म चितवनको भरतपुरमा अग्रता लिएको उसले अहिले त्यहाँ पनि अग्रता गुमाएको छ ।
देशभरका ६ महानगरपालिकाको पछिल्लो अवस्था
काठमाडौं
सबैभन्दा धेरै चासोको रुपमा हेरिएको काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार बालेन शाहले ९ हजार ६१४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका केशव स्थापित ५ हजार १५७ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छिन्।
त्यस्तै उपप्रमुखमा एमालेकी सुनिता डंगोल अगाडि छिन्। उनले ९ हजार ४२१ मत पाएकी छिन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन्।
भरतपुर
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छिन्। उनले पछिल्लो मतपरिणामअनुसार ५ हजार ७१८ मत पाएकी छिन्। उनलाई एमालेका विजय सुवेदीले ५ हजार ६८९ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८५ मतका साथ अगाडि छन्। राप्रपाकी हिमला गुरुङ ४ हजार ६४५ मतका साथ दोस्रो स्थानमा छिन्।
पोखरा
पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ६ हजार ५७९ मतका साथ अग्रता लिएका छन्। उनलाई पछ्याइरहेका एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८४ मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले ६ हजार ७३४ मतका साथ अग्रता लिएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले ६ हजार ५८९ मतका साथ पछ्याइरहेकी छिन्।
विराटनगर
विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइराला अगाडि छन्। उनले अहिलेसम्म ७ हजार १२५ मत पाएका छन्। एमालेका सागरकुमार थापाले ५ हजार ४०६ मत पाएका छन्।
उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले ६ हजार १७७ मत पाएकी छिन्। जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ४ हजार ७७ मतका साथ उनलाई पछ्याइरहेका छन्।
ललितपुर
ललितपुर महानगरपालिकाको प्रमुखमा पनि कांग्रेसले अग्रता लिइरहेको छ। कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म ५ हजार ९८४ मत पाएका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार २२० मत पाएका छन्।
उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले २ हजार ६५६ मत पाएकी छिन्। उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १ हजार ९६७ मत पाएका छन्।
वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता लिइरहेका छन्। उनले अहिलेसम्म ५ हजार ८२७ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले २ हजार ५७३ मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले ३ हजार ७२६ मत पाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ६३३ मत पाएका छन्।