स्थानीय चुनाव : दैलेखमा विरासत गुमाउँदै एमाले
वि.सं.२०७९ जेठ ३ मंगलवार १७:४०
shares
काठमाडौं, ३ जेठ । ३० वैशाखमा सम्मपन्न भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहँदा नेकपा एमाले २०७४ सालको तुलनामा निकै पछि परेको छ । २०७४ सालमा पहिलो दल बनेको एमाले मतगणना भइरहदा दोस्रो स्थानमा रहेको छ । विजयी हुने र अग्रता लिने दुवैमा एमाले दोस्रो स्थानमा रहेको छ ।
यसैबीच, कर्णाली प्रदेशको दैलेख जिल्लामा पनि एमालेले आफ्नो विरासत गुमाएको छ । माओवादीको विगविगिको समय २०६४ सालमा समेत एमालेले विजय झण्डा फहराएको दैलेखमा यो पटकको स्थानीय चुनावमा भने नराम्रोसँग पराजय भोगेको छ । उसले जिल्लामा अघिल्लो पटक जितेका स्थानीय तहमा पराजय भोगेको छ । जिल्ला सदरमुकाम समेत रहेको नारायण नगरपालिका बाहेक एमालेले जितेका पालिकामा उसले पराजय भोगेको छ । अहिलेसम्म उसले भगवतिमाई गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, महावु गाउँपालिका, ठाँटीकाध गाउँपालिका, भैरवी गाउँपालिकामा पराजय भोगेको छ । अघिल्लो पटक केही मतले मात्रै हारेको दुल्लू नगरपालिकामा पनि एमाले पछि परेको छ । भैरवि गाउँपालिका एमालेका नेता तथा प्रचार विभागका उप–प्रमुख विष्णु रिजालको पालिका हो ।
दैखेलमा अघिल्लो चुनावमा एक वडा सदस्य समेत नजितेको नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म दुई पालिकाको प्रमुख नै जितिसकेको छ । एमालेले अहिलेसम्म जितेका पालिकाहरुमा यस अघि कांग्रेसले जितेको डुङ्गेश्वर गाउँपालिका र गुराँस गाउँपालिका रहेका छन् । २०७४ सालको चुनावमा एमालेले जितेको अर्को पालिका हो आठविस नगरपालिका । त्यहाँ पनि प्रारम्भिक मत परिणाम अनुसार एमाले पछि नै परेको छ । त्यहाँ कांग्रेसका उम्मदवारले अग्रता लिइरहेका छन् ।
दैलेखमा एमाले एक्लै चुनावि मैदानमा रहेको थियो भने सत्तारुढ दलहरुले गठबन्धन बनाएर लडेका थिए । दैलेखमा ऐतिहासिक रुपमा नेकपा माओवादी केन्द्रले नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकाको प्रमुखमा जित हासिल गरेको छ ।
तथ्यांक हेर्दा गठबन्धनका कारण दैलेखमा नेकपा माओवादी केन्द्रलाई फाइदा पुगेको छ । अघिल्लो पटकको चुनावमा ७ पालिकामा जित निकालेको एमालेले अहिलेसम्म दुई पालिकामा मात्रै जित हासिल गरेको छ । तर अघिल्लो पटकको चुनावमा ४ पालिकामा जितेको कांग्रेसले ५ पालिकामा जित हासिल गरिसकेको छ । २ पालिकामा पनि उसले अग्रता कामय गरिरहेको अवस्था छ । अहिले चुनाव हारे पछि एमालेका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पार्टीका नेताहरुलाई तल्लो तहमै पुगेर गालि गर्न थालेका छन् ।